कोरोनाका लागि सुदूरपश्चिम पुगेका चिकित्सक भन्छन्ः ‘जोखिम कायमै छ तर पीपीई र किट प्रयाप्त छैन्’


सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौंबाट बैशाख ५ गते ३३ जना चिकित्सको टोली पठायो । पाँच जनामा कोरोना संक्रमण भएपछि जोखिम बढेको भन्दै सरकारले चिकित्सको टोली पठाएको थियो । भारतबाट हजारौं नेपालीहरु सुदूरपश्चिमका गाउँ-गाउँमा भित्रिएपछि सरकारले जोखिम बढ्ने भन्दै एक महिनाको लागि टोली खटाएको हो । काठमाडौंबाट गएका चिकित्सहरुले अहिले सुदुरपश्चिमका ९ वटै जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि काम गरिरहेका छन् । सु.पका पहाडी जिल्ला पुगेका विभिन्न विशेषज्ञता भएका डाक्टरहरुको टोलीले कोरोनाका साथै अन्य सेवाहरु पनि दिइरहेका छन् । काठमाडौंबाट सुदूरपश्चिम गएका चिकित्सकले के गरिरहेका छन् भन्नेबारे ट्रमा सेन्टर काठमाडौंमा कार्यरत र हाल जिल्ला अस्पताल बाजुरामा खटिएका डा. मोहन नाथसँग गरिएको कुराकानी ।

तपाई लगायत तीन जनाको टोली अहिले बाजुरा अस्पतालमा खटिएको छ, के- के गरिरहनु भएको छ ?
हामीले विशेषगरी कोरोना रोकथाम तथा निणन्त्रणकै लागि काम गरिराखेका छौं । जिल्लामा आइसोलेन वार्ड निमार्णमा सहयोग गर्ने, स्वाब संकलन बुथ बनाउने, स्वास्थ्यकर्मीको लागि क्वारेन्टाइनको व्यवस्था गर्ने, जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको आरडीटी परीक्षण गर्ने जस्ता काम गरिरहेका छौ ।

यसका साथै हामीले आफ्नो विशेषज्ञता अनुसार अरु काम पनि गरिराखेका छौं । अहिलेसम्म ४ जनाको हाडजोर्नी सम्बन्धी अप्रेसन गरेका छौं । जुनकुरा विरामीको लागि निकै महत्वपूर्ण छ । लकडाउनको समयमा उनीहरुले हजारौं खर्च गरेर धनगढी, नेपालगञ्ज जानुपर्ने हुन्थ्यो तर, उक्त सेवा उहाँहरुले जिल्लामै कम खर्चमा पाए । विशेषगरी यस्तो खालको अप्रेसन काठमाडौंमा ट्रमा सेन्टरमा गरिन्छ ।

काठमाडौंबाट सुदूरपश्चिममा खटाइए अन्य स्वास्थ्यकर्मीहरुले जिल्लामा कसरी काम गरिरहेका छन् ?
हामी सबैलाई सरकारले विषेशगरी कोरोना रोकथामका लागि नै पठाइएको हो । कैलालीमा कोरोनाका केशहरु भएकाले केहि चिकित्सक साथीहरु त्यहाँ संलग्न छन् । अन्य जिल्लामा कोरोनाका केशहरु नभएकाले तयारीमै बढी सक्रिय छन् । अहिले अन्य जिल्लाहरुमा आइसोलेसन बनाउने, स्वाब संकलन बुथ बनाउने, पीपीई लगाउने तरीकाबारे जानकारी दिने लगायतका काम गरिरहेका छन् ।

त्यस्तै विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बसेका छन् कि छैनन्, केही केशहरु छन् कि भनेर जानकारी लिने, कोरोनाबारे सूचना दिने काम पनि भइरहेको छ । यसका साथै विभिन्न विशेषज्ञता भएका डाक्टरहरुले आफु कार्यरत अस्पतालमा अन्य केशको अप्रेसन गर्ने काम गरिरहेका छन् ।

तपाईहरु कोरोनाको रोकथाम र उपचारका लागि भएपनि अन्य उपचार गरिराख्नु भएको हो ?
धनगढीमा कोरानाको केश भेटिएकाले १० जनाको टोली त्यहाँ उपचारमा संलग्न भएको छ । अरु ठाउँमा कोरोना मात्रै नभएर अन्य सेवाहरु पनि दिइरहेका छौं । जस्तै मैले अघिपनि यहाँलाई भने, बाजुरामा हाडजोर्नी सम्बन्धी ४ वटा अप्रेसन भएका छन्, अछाममा गर्भवती महिलाको अप्रेसन गरिएको छ । त्यस्तै बैतडीमा पनि  हाडजोर्नी सम्बन्धी सेवा दिइएको छ भने डडेल्धुरामा पनि पीसाव थैलीको अप्रेसन गरिएको छ । हाम्रो टिमकै साथीहरुले बझाङ, डोटी, दार्चुलामा पनि कोरोना वाहेक अन्य विशेषज्ञ सेवा दिइरहेका छन् । हाम्रो टोलीमा हार्डजोर्नी, रेडिओलोजिष्ट, प्रसुती, सर्जरी लगायतका विशेषज्ञता भएका डाक्टरहरु छन् ।

कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने सामाग्रीहरु स्वास्थ्यकर्मीका लागि प्रयाप्त मात्रामा उपलब्ध छन् ?
अहिले जिल्लामा स्वास्थ्यकर्मीको लागि प्रयाप्त मात्रामा स्वाथ्य सामाग्रीको अभाव नै छ भनौं । पीपीई पनि प्रयाप्त मात्रामा छैन् । स्वास्थ्यकर्मीका लागि केही मात्रामा भए पनि, एम्बुलेन्स चालक र अरु कर्मचारीका लागि समस्या नै छ । कुनै–कुनै ठाउँमा त पीपीई, माक्स लगायतका सामाग्री गुणस्तरीय नभएको कुरा पनि गुनासो आइरहेको छ ।

धेरै ठाउँमा कोरोना परीक्षणका लागि किट नभएर परीक्षण नै रोकिएको भन्ने खबरहरु आइरहेका छन्, तपाई खटिएको ठाउँमा के छ ?
बाजुरामा अहिलेसम्म दुई जनामा आरडीटी परीक्षण पोजिटिभ देखिएको थियो । उनीहरुको धनगढीमा पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि हामीले डिस्चार्ज गरिसकेका छौं । किटको कुरा गर्दा अभाव नै छ । अहिलेसम्म १ हजार जनाको मात्रै परीक्षण गरिएको छ ।

जिल्ला बाहिरबाट आएका सबैको परीक्षण भएको छैन् । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई घर फठाउनु भन्दा पहिले परीक्षण गर्ने गरिएको छ । त्यस्तै अरु ठाउँमा पनि किटको समस्या नै छ । बैतडीमा त किट नभएर परीक्षण नै रोकिएको कुरा पनि आइरहेको छ । हामीले पनि किट प्रयाप्त मात्रामा नभएकाले क्वारेन्टाइनबाट घर पठाउनेहरुलाई परीक्षणका लागि जसोतसो व्यवस्थापन गरिरहेका छौं ।

बाजुरामा पनि भारत र अन्य ठाउँबाट आएका व्यक्तिहरु होलान, कोरोनाको जोखिम कत्तिको छ ?
लकडाउन सुरु भइसकेपछि त भारतबाट आएका छैनन् । त्यो भन्दा पहिले आएकाहरु सबैलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको रहेछ । कतै कतै भारतबाट लुकिछिपि आएका छन् भन्ने खबर त आएको छ तर उनीहरु जिल्लासम्म आइपुगेका छैनन् । जोखिमको कुरा गर्दा अहिले त खासै त्यति जोखिम छैन् । तर, नेपालगञ्जमा कोरोना देखिएको छ । यताबाट नेपालगञ्ज आवतजावत हुने भएकाले जोखिम बढ्न सक्छ । जिल्लामै नभए पनि बाहिरबाट आउने व्यक्तिलाई रोक्न सकिएन भने जोखिम बढ्छ नै ।

जिल्ला बाहिरबाट भित्रिएका व्यक्तिमा कोरोना सम्बन्धी जनचेतना कस्तो पाउनु भएको छ ?
धेरै ठाउँमा जिल्ला बाहिरबाट आएका व्यक्तिहरु आफै क्वारेन्टाइनमा बसेका छन् । उनीहरुमा ‘हामीले क्वारेन्टाइन बस्नुपर्छ, भन्ने खालको धारणा छ । अब कतै कतै क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएकाले बस्न नमानेका कुराहरु पनि आएका छन् । हामीले सबै ठाउँमा पुगेर अनुगमन गर्न सक्ने अवस्था छैन् । यो बाहिर आएको कुरा मात्रै हो ।

तपाई एउटा स्वास्थ्यकर्मी भएकाले सुदूरपश्चिममा अब लकडाउनको मोडालिटीलाई कस्तो हुनुपर्छ ?
भारतसँग खुला सीमा जोडिएकाले सुदूरपश्चिम प्रदेश कोरोनाको जोखिममा रहेको छ । त्यसका साथै पछिल्लो समय नेपालगञ्जमा पनि कोरोना देखिएपछि जोखिम झन बढेको छ । सुदूरपश्चिमका व्यक्तिहरुको नेपालगञ्ज आवत जावत भइरहन्छ । त्यसैले जिल्ला भित्र लकडाउन केही खुकुलो पारेपनि सीमा नाका भने सिल नै गर्नुपर्छ ।

जिल्ला बाहिरबाट कोहीपनि भित्रिन पाएन भने जोखिम कम भएर जान्छ । अहिलेसम्म कैलाली र कञ्चनपुर बाहेक अन्य ठाउँमा कोरोना देखिएको छैन् । जिल्ला बाहिरबाट कतिपय व्यक्तिहरु लुकिछिपि आउने गरेकाले पनि कोरोनाको डर हुन्छ । त्यसैले लकडाउन जिल्लाका नाकाहरुमा पनि कडाई हुनपर्दछ ।

तपाई काम गरिरहनु भएको अस्पतालमा के समस्या छन् ?
जिल्ला अस्पताल बाजुरामा भवनको नै समस्या छ । अहिले पनि भवन जिर्ण अवस्थामा छ । विरामी बढेपछि राख्नका लागि आइसोलेन वार्ड छैन । हामीले जिर्ण अवस्थामा रहेको भवनमै पनि आइसोलेसन वार्ड बनाएका छौं । यसका साथै स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, अन्य कर्मचारीलाई पीपीईको बारेमा राम्रो ज्ञान छैन् । यसले गर्दा पछि समस्या हुनसक्छ । यो सबै कुरालाई मध्यनजर गरी हामीले पीपीई प्रयोग कसरी गर्ने भन्ने बारेमा सबैलाई जानकारी गराएका छौं । स्वाब संकलन बुथ बनाएका छौं ।

स्वास्थ्यकर्मीलाई प्राविधिक तालिमहरु दिएका छौं । हामीले अस्पतालमा पुगेका सबै विरामीलाई सेवा दिने काम गरिरहेका छौं । हाम्रो पनि बसाई धेरै लामो छैन्, अब हामी एक हप्ता यहाँ रहन्छौं । यहाँ रहुन्जेल हामीले सकेको सेवा र सूचना दिइरहेनेछौं ।

(बाजुरा अस्पतालमा बनाइएको आइसोलेशन)

(बाजुरा अस्पताल परिसरमा बनाइएको स्वाब संकलन बुथ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार