काठमाडौं । नयाँ शक्ति पार्टीले निर्मला पन्तका बुवाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
पार्टीका संयोजक तथा पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मलाका बुवा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर रु. एक लाख सहयोग हस्तान्तरण गरेको उक्त पार्टीले जनाएको छ ।
अष्ट्रेलियामा रहेका पार्टी समर्थक अनिल पाण्डे र सविता भट्टराईले उक्त आर्थिक सहयोग पठाएका हुन।
भट्टराई दम्पतीले निर्मलाका बुवाको उपचार भइरहेको कक्षमा गई उनलाई भेटेर कुराकानी गर्दै सान्त्वना दिएका छन । साथै उनको अवस्थाबारे उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुबाट जानकारी समेत लिएका छन् ।
डा. भट्टराईले आफुहरुलाई भेटेर न्यायका लागि सधै साथ, समर्थन रहेको भन्दै सान्त्वना दिएको र निर्मलाका बुवाको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेको आमा दुर्गाले अनमोलपोष्टलाई जानकारी दिइन ।
यज्ञराजलाई उपचारका लागि हिजो (सोमबार) मात्रै शिक्षण अस्पताल ल्याइएको थियो । छोरीको हत्यारा सार्बजनिक गर्नु पर्ने माग गर्दै कात्तिक २५ गते देखि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा धर्ना बसेका उनको डिप्रेसनका कारण मानसिक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो । निर्मलाको हत्या भएको चार महिना पुग्दा समेत अझै हत्यारा पत्ता लाग्न सकेको छैन ।