करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

जनकपुरधाम । प्रदेश नं २ ले करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई बहुमतले पारित गरेको छ ।
सोमबार बसेको प्रदेशसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

सभामुख सरोजकुमार यादवले सो विधेयकलाई निर्णयणार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको हो । विधेयक पारित भएसँगै प्रदेश २ को सरकारलाई करारमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

विधेयकको पक्षमा सत्ताधारी दल सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली काङ्गे्रस तथा विपक्षमा नेकपाका प्रदेशसभा सदस्य रहेका थिए ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना गर्नु रहर नभई बाध्यता भएको बताउँदै कर्मचारीको अभावका कारण नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था शून्य रहेको छ बताए ।

सङ्घीय सरकारले अवकाशको चरणमा रहेका कर्मचारीलाई पठाउने गरेका कारण अन्योलको स्थिति कायम रहेको भन्दे उनले सङ्घीय सरकारले प्रदेशमा आउन चाहने कर्मचारीलाई नपठाउने र आउन नचाहनेलाई पठाएर सङ्घीयताको मर्ममाथि प्रहार गरिरहेको धारणा समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार