कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन ।
कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, “चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे छ, आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्नु हुनेछ ।”
ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उनले जानकारी दिए ।
नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको उनको भनाइ थियो ।
लुम्बिनी र तिलौराकोटकोएतिहासिक महत्वलाई बुझेर त्यसको विकासका लागि आफु प्रधानमन्त्री हुँदा केहि काम गरेको अध्यक्ष प्रचण्डले बताए । तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमाका रुपमा विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न बर्तमान कम्युनिष्ट सरकार अघि बढेको उनले जानकारी दिए।