लकडाउन बारे नयाँ निर्णय लिन (सीसीएमसी) मा छलफल सुरु


काठमाडौँ । पछिल्लो समय काठमाडौं उपत्यकामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरी लकडाउन गर्ने विषयमा छलफल सुरु भएको छ । लकडाउन खुलेसँगै देशभर संक्रमित र मृतकको संख्या बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले फेरी लकडाउन गर्ने विषयमा छलफल थालेको हो ।

सरकारले साउन ६ गते मध्यरातिबाट लकडाउन खुलेको घोषणा गरेसँगै जिल्लाभित्रै सार्वजनिक यातायात संञ्चालनमा आइरहेका छन् भने, कार्यालयहरु पनि सञ्चालन भइरहेका छन् । त्यस्तै लकडाउन खुलेसँगै साउन १५ बाट होटलहरु पनि खुलिसकेका छन् ।

सरकारले भिडभाड नगर्न र सावधानी अपनाउन आग्रह गर्दा पनि त्यसको कुनै पालना गरिएको छ । कतिपय व्यक्तिहरुले मास्क समेत नलगाई हिड्ने गरेका छन् । व्यक्तिको यस्तै लापरवाहीले गर्दा कोरोनाको जोखिम उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

जनताले लकडाउन खुलेपछि जनजिविन सामान्य भएको ठानेर आफन्तको जाने, भेटघाट गर्ने, चाडपर्व मनाउने जस्ता कामहरु पनि गर्न थालेका छन् । यस्ले गर्दा कोरोना फैलिने डर बढ्दै गइरहेको भन्दै फेरी लकडाउन हुनसक्ने सम्भावना बढ्दै गइरहेको छ ।

लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर (सीसीएमसी) ले छलफल थालेको छ ।

साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला १० दिनमा १६ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १६ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ७ सय ७१ पुगेको छ ।

तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार