रेशम चौधरीलाई रिहा गर्न ३ महिने अल्टिमेटम दिदै थारुहटद्धारा आन्दोलनको घोषणा

कैलाली । रेशम चौधरी लगायतका ११ जनालाई तीन महिनाभित्र जेलमुक्त गर्न गर्न थरुहट थारुवान मोर्चाले अल्टिमेटम दिएको छ ।

शनिबार कैलालीमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै मोर्चाले आफूहरुका मागहरु तीन महिनाभित्र सरकारले पुरा नगरे शसक्त आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

टीकापुर घटनालाई लिएर थारु समुदायमाथि गरिएको अन्यायलाई राजनितिक रुपमा समाधान गर्नुपर्ने मोर्चाहरुको माग रहेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए ।

आफ्ना मागहरु तीन महिनासम्म पनि सुनुवाइ नभए सरकारलाई नै बहिस्कार गर्ने मोर्चाको चेतावनी छ । तीन महिना भित्र राज्यले टिकापुर घटनाको समस्या समाधान नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने संयोजक थारुले चेतावनी दिए ।

टीकापुर घटनामा थुनामा रहेका रेशमलाल चौधरी सहितका ११ जनालाई ३ महिना भित्र रिहा गर्नुपर्ने उनको भनाइ छ ।
टिकापुर घटनालाई लिएर थारु समुदायमाथि भएको अन्यायविरुद्ध मोर्चाले भोलीदेखि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम पनि तय गरेको छ ।

जसअनुसार भोली साउन २५ गते सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ गते मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ गते विरोध सभा गर्ने र भदौ ८ गते टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने, असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने लगायतका आन्दोलनाका कार्यक्रम रहेका छन् ।

यतिगर्दा समेत आफ्ना मागहरु पुरा शसक्तरुपमा नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ ।

मोर्चाको आन्दोलनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद्, उत्पीडन समन्वय मञ्च कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान रास्ट्रिय संघर्ष समिति, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्यबद्धता जनाएको संयोजक थारुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार