चलचित्र ‘प्रसाद’ : महिला विरोधी र विभेदकारी

पछिल्लो कहि बर्ष यता नेपाली चलचित्रको बजार केहि सुधारउन्मुख देखिएपनि सन्तोषजनक भने छैनन । हास्यँब्यग कथामा आधारित दई चार चलचित्रहरु ब्यवापारिक दृष्टिकोटले सफल मानिएपनि बिषयगत कुरा र सामाजिक दृष्टिकोणले सन्तोषजनक छैनन ।

चलचित्र निमार्ण पक्षले ब्यापारलाई मात्रै प्रधान ठान्दा कथाबस्तुहरुले समाजमा नराम्रो प्रभाव पारेको देखिन्छ । त्यसका केहि उदारहण चलचित्र छक्कापञ्जा, पण्डित बाजेको लौरीलाई लिन सकिन्छ ।

छक्कापञ्जाले महिलालाई गलतरुपमा चित्रण गरेको र बैदेशिक रोजगारमाथी प्रश्न उठाएका कारण आालोचित भयो । अद्यपी ब्यापारमा भने सफल रह्यो र त्यसले नेपाली चलचित्रमा एक फड्को नै मार्यो ब्यापारका हिसावले ।

त्यसैगरि, दलित समुदायलाई चलचित्रको कथाबस्तु बनाएर उल्टै त्यहि समुदायको बेइज्जत र अपमान गरेकाले चलचित्र “पण्डित बाजेको लौरी”  हलमा प्रर्दशन भए लगत्तै बन्द गर्नुपर्यो । चलचित्रको चौतर्फी बिरोध भएपछि बन्द भएको थियो ।

बल्ल बल्ल नेपाली चलचित्रले आफ्नो लामो यात्रा लय गरिरहेका बेला, समाजका संवेदनशिल बिषयबस्तुलाई चलचित्रको कथाबस्तु बनाउदा ध्यान नदिदा दर्शक तथा समुदाय, बर्ग बिशेषबाट आलोचना खेप्नु परेको छ । जसले चलचित्र विकासमा राम्रो संकेत देखाउदैन ।

यहि परिपाटी फेरि दोहोरिएको छ, “प्रसाद”  नामक नेपाली चलचित्रमा । जुन प्रर्दशनमा आएसंगै आलोचित भइरहेको छ ।

जसबारे चलचित्र हेरिसकेपछि आफ्नो बिचार र बुझाई यहाँ राखिरहेको छु ।

मैले आजसम्म हेरेको फिल्म, हिन्दी होस वा नेपाली त्यसमा नायक नायिका जितको प्रतीक, समाजको रोल मोडलका रुपमा दर्शाइएको पाएको छु । जुन असल कुरा हो । किनकी साहित्य भित्रको एक बलियो पाटोको रुपमा लिइने चलचित्र क्षेत्रमा त्यस्तो देखाइनु सकारात्मक कुरा हो ।

तर हाल प्रर्दशनमा रहेको नेपाली चलचित्र ‘प्रसाद’ को  ‘बाबुराम’ किन हार, निरिह, कमजोर र दमित पात्र ? चलचित्र हेरिसकेपछि मेरो मनमा उब्जिएको पहिलो खुल्दुली र प्रश्न हो यो ।

के आजसम्मको कुनै पनि चलचित्रमा नायक बाबुरामले झैं खलनायकसंग लडाईमा हार्छ ? संवादमा निशब्द, तर्कहिन हुन्छ ? प्रस्तुतीमा अक्कड र चेतनाहिन हुन्छ ? हुँदैन ।

तर प्रसाद चलचित्रमा भएको छ । किनकि यस फिल्मका मुख्य पात्रका रुपमा उभ्याइएका ‘बाबुराम’ दलित पात्र, परियार हो । अझ संवादीय सम्बोधनबाट देखिएको झल्किएको समाजमा हेपाहा रुपमा बोलिने ‘टेलर’ हो बाबुराम ।

प्रचारवाजी गरिए जस्तो महिलाको आमा हुने चाहना (नारी पक्षीय) र दलित समुदायको बिषय उठान गरिएको भनिए पनि चलचित्रमा दुबै पक्ष निकै कमजोर र निरिहरुपमा प्रस्तुत गरिएको छ ।

कतिपयले प्रायोजित ढंगले प्रसाद चलचित्रलाई जातीय विभेदको विरुद्धमा बनेको फिल्म पनि भन्न भ्याएका छन । यर्थातमा त्यस्तो पक्कै मैले देखिएन ।

बरु विभेदबाट प्रताडित नारी र दलित समुदायलाई अझ कमजोर देखाउने र विभेद भोग्नु दलितको नियति हो भन्ने कुरा प्रष्टसंग देखिन्छ । जुन कुटिल चालबाजीयुक्त चलचित्र हो भन्न सकिने प्रशस्त आधारहरु भेटाए ।

चलचित्र प्रसादमा समाजका दुईवटा समूहको कथावस्तु देखाउन खोजिएको छ ।
एक : महिला र दुई : दलित ।

महिलाको दृष्किोटबाट चलचित्र प्रसाद कस्तो ?


महिलाको हकमा, महिलामा सन्तानको ईच्छा र चाहना कति व्यग्र हुन्छ भन्ने कुरा कथामा देखाउन खोजिएको छ ।
जसमा पुरुषको नपुंसकताको कारणले महिला निसन्तान हुनु पर्दा महिला कति पीडामा हुन्छिन् भन्ने बुझाउन खोजिएको छ । यसमा जसरी पीडा व्यक्त गरिएको छ; उक्त पीडा व्यक्त गर्ने तरिका, बिषयवस्तु ठीक छ त ? पटक्कै छैन ।

किनकि प्राकृतिक रुपमा हुने बाँझोपनलाई बलात्कार जस्तो घृणित कृत्यमार्फत् उत्पन्न हुने परिणामलाई उचित ठह¥याउन खोजिएको छ, त्यो पनि भगवानको प्रसादको रुपमा । जुन आफैमा हाँस्यास्पद छ ।

महिलाले बाँझी हुनुभन्दा बलात्कारलाई रोज्छे, ठीक ठान्छे र बलात्कारबाट उत्पन्न हुने परिणामलाई भगवानको प्रसादको रुपमा सहजै ग्रहण गर्छे भन्ने सन्देश प्रसाद नमिक चलचित्रले दिन खोजेको छ । के फिल्म, साहित्यको धर्म यही हो त ?

साहित्य समाजको दर्पण हो भन्दै कुनै समुदाय र बर्गलाई मनपरी ढंगले देखाउन मिल्छ ? साहित्यले समाजको यथार्थ बिषयवस्तु, समाज परिर्बतनका लागि सचेतनाको चेत पस्किने हो कि लेखकको मनगढन्ते कल्पना मात्र ?

चलचित्रको कथामा परिवार त्याग्न आँट गर्न सक्ने, अभावमा पनि श्रीमान्लाई भरोसा दिन सक्ने आँटिली र सचेत महिला पात्रका रुपमा ‘मया’ लाई शुरुवातमै प्रस्तुत गरिएको छ, पछि तिनै महिलालाई फिल्मको अन्तमा किन काँतर, निर्णय गर्न नसक्ने, गलत कार्यलाई भगवानको प्रसादको रुपमा ग्रहण गर्न बाध्य हुने निरिह पात्रको रुपमा प्रस्तुत किन गरियो ? साहित्यधर्मी—कर्मीहरु सबैले उठाउनु पर्ने प्रश्न यिनै हुन ।

साहित्य, अझ त्यसमा पनि जीवन—यथार्थलाई पर्दामा उतार्ने विधा चलचित्रले त, हाम्रो जस्तो पछौटे समाजमा मानवीय व्यवहार, चेत, संवेदनाको नेतृत्व गर्न सक्नु प¥थ्यो जुन प्रसादमा मैले पाएन ।

समाज भित्रका यस्ता गहन र अति नै संवेदनशिल बिषयबस्तु पर्दामा उतारिसकेपछि त्यसका धेरै पाटाहरुको बिषयमा त्यत्तिकै जिम्मेवार र सचेत हुनुपर्छ होला ।

हाम्रो जस्तो समाजमा फिल्मको पात्रको नक्कल कतिपयले गरिरहेको देखिन्छ र गर्न खोज्छन पनि । तर, प्रसाद चलचित्रबाट यदि नक्कल गरियो र गर्न खोजियो भने नारी अस्तित्व र संंवेदनाको के हालत होला ? लेखक तथा फिल्म निर्देशकले यो कुराको हेक्का राख्नु पर्छ की पर्दैन ?

एउटा यौन पिपासु पुरुषले एउटी पतिव्रता नारीलाई बलात्कार बलात्कार गर्ने उद्देश्यले पटक पटक उसकोे घरडेरामा जान्छ र बलात्कारको निसंकोच प्रयास गरिरहन्छ । तर, फिल्मको लेखक तथा निर्देशक उक्त नारीलाई विद्रोही बनाउदैन, आक्रोश पोख्न लगाउदैन, कानूनी राजको अनुभूति हुने गरी कुनै कानूनी उपचारमा जाने बाटो त्यो महिलालाई सुझाउदैन ।

त्यो यौन पिपासुले बलात्कार गरि महिलालाई अझै निरिह बनाई पेटमा बच्चा हुर्काउन उक्साइरहन्छ ।

त्यसैगरी, कानूनी राज्यमा कथाका पात्र बलात्कारी रमेशलाई सजाय दिलाउने दृश्य कतै देख्न पाइदैन । निज अपराधीलाई सामाजिक बहिस्कार भएको वा निज स्वयंलाई हिनताबोध, अपराधबोध भएको वा गराउने कुनै दृश्य छैन, अझ नायकलाई निरिह पात्र बनाई निजमार्फत् नारीको छिया छिया भएको घाउमा नूनचुक छर्काउने काम गरेको देखिन्छ ।

यसरी बलात्कारीलाई समाजबाट बहिष्कृत गराई राज्यको कानूनमार्फत् हदैसम्मको सजाय दिलाउन सक्नु प¥थ्यो । तर त्यसो नगरी सामान्य दूर्घटनाबाट निज खलपात्रको मृत्यु गराइएको छ, जसले अपराधीलाई कानूनी व्यवस्थामार्फत् होइन, कुनै अदृश्य शक्ति छ, उसैैले सजाय गर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

हामीलाई कानूनी राज चाहिदैन, सबै कुरा भावीले निर्धारण गर्छ र महिला स्वयं पनि विद्रोह गर्न नसक्ने निरिह पात्र मात्र हो भन्ने सन्देश चलचित्र प्रसादले दिएको देखिन्छ, जुन महिलाको अस्तित्वमाथि कै गम्भिर त्रुटी हो भन्ने मेरो बुझाई छ ।

पितृसत्तात्मक समाजले हिजो महिला जुन किसिमको अन्याय सहन बाध्य गरायो, आज पनि आमा बन्ने चाहनामा बलात्कार जस्तो जघन्य अपराध सहन बाध्य गराइएको छ । के प्रसाद चलचित्रले बलात्कारलाई बैधानिक बनाउन खोजेको हो ?

अनि लेखक र फिल्म निर्देशकले त यति कुरा बुझेनन् बुझेनन्, अझ जुनसुकै फिल्म प्रर्दशनमा आउनु अघि फिल्मको कथाबस्तु, दृष्यलाई प्रसारणका लागि अनुमती दिने सरकारी निकायको रुपमा रहने “केन्द्रीय चलचित्र जाँच समिति” मा रहने पदाधिकारीहरुले प्रसाद नामक चलचित्रले समाजमा कस्तो प्रभाव पार्ला भन्ने सामान्य चिन्तन पनि गरेको पाइएन ।

फिल्मले समाज, अधिकारप्रति सचेत महिला, कानूनी राजलाई विश्वास गर्ने जनमानस, दलित समुदाय र सचेत, असचेत नागरिकलाई के कस्तो मनोवैज्ञानिक प्रभाव पार्छ, यस फिल्मको सकारात्मक नकारात्मक सन्देश के हो ? भन्ने सामान्य कुरा पनि छुट्याउन नसक्दा सेन्सर बोर्डको गरिमामाथी नै प्रश्न उठ्छ ।

दलितको दृष्किोणबाट चलचित्र प्रसाद कस्तो ?


‘बाबुराम’ नामक पात्र प्रसादको फिल्मको हिरो हो, जसलाई दलित समुदायको भनि चित्रण गरिएको छ । उसको हाउभाउ, चेत, मानसिकता सबै सबै कमजोर देखाइएको छ ।

कथामा यस्तो देखिन्छ, धेरै लामो समयदेखि भेट नभएको गाउँकै साथी रमेशसंग भेट हुँदा उसले पहिले बाबुराम भन्दा चिन्दैन । फेरि परियार भनी प्रस्ट्याउन खोज्छ, तर पनि उ अझ अल्मलिए जस्तो गर्छ र संझिएर ‘ए, अँ, टेलर !’ भनेर हेपाहा भाषामा भन्छ र चिन्छ ।

अनि बाबुराम निजको उक्त अभिव्यक्तिप्रति कुनै नकारात्मक भाव जगाउँदैन तर यदि दर्शक सचेत र संवेदनशील छ भने उसलाई कसो कसो अपठ्यारो महशुस हुन्छ —एउटा साथिलाई अर्को साथिसंगको परिचित हुने तरिकाप्रति ।

पात्रको दोश्रो अभिव्यक्ति,  एकदिन बाबुराम रक्सी खाएर आउँछ । श्रीमतीको ‘रक्सी खाएर आएको’ भन्ने जवाफमा ऊ निसंकोच भन्छ, ‘रक्सी खानु जातैले पाएको हो नि’ । समाजिक प्रचलनमा जातीय रुपमा हेप्नु प¥यो भने कथित आफूलाई सभ्य भनी आत्मरतिमा रमाउन खोज्ने जातले परिवारमा रक्सी सेवन गर्ने (कू) प्रचलन भएका कथित तल्लो जातलाई भन्ने गरेको पाइन्छ ।

तर यहाँ, एक दलित (दमाई) स्वयंबाट अभिव्यक्त गराइएको छ र त्यो कथनलाई उक्त जातबाट स्वीकार गर्न र त्यो कथनलाई मान्यता दिलाउन खोजिएको प्रष्ट बुझिन्छ । फेरि के पशुले घाँस खाने जस्तै हो र दलितले रक्सी खाने कुरा, जातैले दिएको भनि प्रष्ट्याउनु पर्ने ?

मानौं रक्सी र दलित एकअर्काको परिपूरक हो भने जस्तै गरि देखाइएको छ । रक्सी त कुनै धुर्तले निर्माण गरेको हिजोको कानूनले खान बाध्य पारेको पो हो त ।

त्यसको एउटा शसक्त उदाहरण हेरौं ।
मनुस्मृतिको १०÷१२५ मा यसरि उल्लेख गरिएको छ,  “उच्छिष्टमन्नं दातव्यं जीर्णानि बसनाचि च, पुलकाश्चैव धान्यानां जीर्णाश्चैव परिच्छदाः ।”
(अर्थात् शुद्रलाई जुठो अन्न, पुराना कपडा, ओछ्याउनलाई पराल र ओढ्नलाई थाङ्ना—भुल्ला दिनू । स्रोत : “मानवताको कलंक जातपात र छुवाछूत प्रथा ” मोदनाथ प्रश्रित)

शासकहरुले बनाएका यस्ता घिन लाग्दा र अमानविय नीति अन्तर्गत कुनै बर्ग र जात बिशेषलाई खान बाध्य पारिएको थियो । अहिलेको पुस्ताले यस्ता घृर्णित र अत्याचारी नितिलाई शिरोपरी गर्दै यसरि ‘रक्सी खानु जातैले पाएको हो नि’ दुनियांलाई भन्दा आफैलाई दज्जावोध हुनुपर्ने होइन र ?

तर यस प्रसाद नामक चलचित्रमा यस्ता कुरिती र कुपर्थालाई तोड्ने किसिमको र तोडिदै गएको सन्देश दिन त परै जाओस्, निरन्तरता दिने किसिमको देखिन्छ ।

त्यस्तै फिल्मको कथाको अर्को संवाद यस्तो छ, ‘के मैले रक्सी नखाँदैमा म बाहुन हुन्छु र ?’ मानौं समाजमा बाहुन हुनु सबै मान्छेको अन्तिम अभिलाषा हो, प्राणी जगतमा र जातमा बाहुन सर्वोत्कृष्ट हो । जुन त्यस्तो हुंदै होइन । यो बडां हलुका र हिजैको सामन्ती सोंचको उपज हो ।

के आजसम्मको विज्ञानले बाहुन भन्ने कुनै जात हुन्छ भनेको छ वा सबै समाजको नश्लमा बाहुन भन्ने जात हुन्छ भन्ने पुष्टि गरेको छ ? जातमा बाहुन सर्वोत्कृष्ट हो भन्ने कुरा वैज्ञानिक रुपमा पुष्टि भएको छ वा पछि पनि हुन सक्छ ?

यसरी पुष्टि हुनै नसक्ने तथ्यलाई कुनै व्यक्तिको अभिव्यक्तिमार्फत् किन साबित गराउन खोजिदै छ, शंका उब्जाएको छ । रक्सी नखाएर बाहुन हुने अभिव्यक्तिको नियत नै बाहुनलाई महान र दलितलाई तुच्छ देखाउन यस प्रसाद नामक चलचित्रले गरेको देखिन्छ ।

त्यसैगरि, चलचित्रमा एउटा ज्यादै मुख्र्याइपुर्ण संवाद देख्न पाइन्छ, जुन कुरा हो जातलाई गुहुँ (दिसा) संग तुलना गरिएको छ । जात र गुहुँ गन्हाउँछ भन्ने अभिव्यक्ति सुन्न पाइन्छ । यस्ता संवाद र बिषयबस्तु चलचित्रमा राखेर निर्माणकर्ता, निर्देशक, लेखकहरु आफ्नो बिशुद्ध ब्यापारिक उद्देश्य त पुरा गर्लान तर, समाजमा यस्ता कुराले द्धन्द र असमझदारी भने बढाउदै लानेछ ।

समग्रमा चलचित्र प्रसाद महिलालाई अपमान, अझ कमजोर, निरिह देखाउन खोजिएकाले यो महिला अधिकारका दृष्टीले पुरुषवादी र महिलाबिरोधी चलचित्रमा परणत भएको छ । अर्को गम्भिर कुरा त के भने, बलात्कार जस्तो जघन्य अपराधलाई चलचित्रले स्विकार गर्न लगाउने र सहन बाध्य गराएकाले यो कानून विपरित छ ।

दलितका दृष्टिकोणले त यो चलचित्र विभेदकारी नै छ । दलितलाई जे गरेपनि हुने, उनिहरुलाई सहजै प्रयोग गर्न सकिन्छ, र दलित भनिनेहरु सधै कमजोर, मुर्ख हुन्छन भन्ने कुरा चलचित्र प्रसादमा देखाइएकाले यो सिंगो दलित सुमदायमाथीको अपमान हो ।

जुन स्विकार्य छैन । चलचित्रबारे मेरो यो बुझाई राखिरहदा निर्माण पक्ष र अन्य पक्षको फरक बुझाई र दृष्टिकोण रहनेमा म जानकार नै छु । किनकी बन्चरोको चोट अचोनालाई मात्र थाहा हुन्छ ।

(लेखक, मोहन साशंकर कानुन ब्यवसायी तथा अधिकारकर्मी हुन ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार