हामीहरुले अवलम्बन गर्दै आईरहेका रीतिरिवाज , रहन सहन, परम्परा, चालचलन ,भेषभूषा, मूल्य मान्यता, चाडपर्व, आस्था र विश्वास आदिले हाम्रो समाजको चेतना र चिन्तन, स्वभाव र संवेदनाको स्तर कति मानवीय वा अमानवीय छ भन्ने स्पष्ट पार्दछन्। नेपाली समाजको चरित्र आज राजनैतिक रूपमा फरक ढंगले परिभाषित भएको छ। हिजो सामाजिक रूपमा मात्र परिभाषित थियो। सामाजिक रूपमा परिभाषित माथी उल्लेखित साँस्कृतिक सामाजिक र धार्मिक अवयबहरूले विभेद, असमानता, शोषण, बहिष्करण, बञ्चितिकरण र अपमानलाई मलजल गरिरहेका थिए। सामाजिक परिभाषाको जनजीवनमा यस्तो प्रभाव परेकोछ कि यसले जीवन पद्धतिलाई रुग्ण बनाई दिएको छ। जुन वर्तमानमा पनि जस्ताको तस्तै चलिरहेकोछ। देशमा विभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनहरुले हाम्रो सामाजिक मूल्य मान्यता, रीतिरिवाज , परम्पराहरू मध्ये कतिपयलाई अब अभ्यास गर्न नपाईने भनी स्पष्ट परिभाषा गरिसकेका छन्।
वि.स. २००७ को जनक्रान्तिले विद्यालयको पठनपाठ सबै जातजाति र समुदायलाई सहज बनाउदै लग्यो। वि.स.२०४६ को जन आन्दोलनले नेपाली समाजमा विद्यमान सबै किसिमका विभेद विरुद्ध लड्न गाउँबस्तीहरुलाई सशक्त हुन, संगठित हुन मार्ग प्रशस्त गर्यो। कमैया मुक्ती घोषणा, संसदबाट दलित समुदायलाई मठमन्दिर खुला घोषणा, भूमिमा हदबन्दी र महिला अधिकारको घोषणा यसै जन आन्दोलनका युगान्तकारी उपलब्धी हुन। त्यस्तै वि.स. २०५२ फागुन १ गते शुरू भएको १० बर्षे नेकपा माओवादीको सशस्त्र विद्रोह र वि.स. २०६२/०६३ लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण उपलब्धिका रूपमा गणतन्त्र , संघियता, धर्म निरपेक्षता, संविधान सभाको निर्वाचन, राज्यको पुनर्संरचना र नेपालको संविधान २०७२ हुन।
नेपालको संविधान २०७२ ले सामाजिक सांस्कृतिक क्षेत्रीय जातीय, लैंगिक , भाषिक लगायतका विभेदलाई निस्तेज गरेकोछ। तर नेपाली समाज यस्तो छ कि जे उपलब्धिका लागि बर्षौं लड्यो त्यस्को प्राप्ती पछि पनि प्राप्त उपलब्धिलाई आत्मसात गर्न सकिरहेको छैन। लैंगिक विभेद अझै कायम छ। क्षेत्रीय र भाषिक उत्पिडन उत्पिडितहरूले प्रत्यक्ष भोगिरहेकै छन्। जातीय विभेद र छुवाछूत त झन सतहमा बेला बेलामा पशुवत देखापर्दछ र देशलाई नै लज्जित बनाउछ। जसले परिवर्तनका लागि त्याग र संघर्ष गरे पीडा र कष्ट उठाए तिनै मानिसहरू विभेद गर्ने अन्यायी ठहरिएका छन्। राजनैतिक रूपमा अग्रगामी परिवर्तनतर्फ प्रवेश गरिरहेको देशको सामाजिक परिवेश बहुलवादी चेतना र चिन्तनको यात्रातिर अशक्त, असक्षम र पंगु सावित भएको छ। मन्दिर प्रवेश गर्यो , धारा इनार छोयो, अन्तर्जातीय विवाह गर्यो , चुल्हो छोयो, भनेर अपमानित, अवहेलित, उत्पिडित र जातीय छुवाछूतको सिकार त भएकै छन्। ज्यानै गुमानु पर्ने अवस्था सम्ममा नि पुगेका छन्।
हामी हाम्रा सामाजिक मूल्य, मान्यता, आस्था, विश्वास, परम्परा, रीतिरिवाज, रहनसहन, भेषभुषाको उन्नयन गर्नका लागि धेरै चिन्तन, मनन, छलफल, गोष्ठी, अन्तरकृया, अनुअसंधान गरिरहेका छौं। यो यसकारण गरिरहेका छौँ कि हामीलाई लाग्न थालेको छ हाम्रो साँस्कृतिक सामाजिक सम्पदाहरूको अभ्यासमा ह्रास हुँदैछ। यी सम्पदाहरूको ह्रास हुनु हुदैन् भनेर गरिएको चिन्ता र संरक्षणको प्रयास प्रसंशनीय कार्य नै हो। तर जे समस्या हो, जहाँ समस्या छ त्यहाँ नपुगेर, त्यसका बारेमा नबोलेर यावत प्रयासको कुनै अर्थ रहदैन् । अर्थपूर्ण प्रयत्न गर्न यदि हामी तयार छौ भने रोग के हो , कहाँ छ थहा भए जति बोल्न शुरू गर्नैपर्छ। नत्र भने हामीहरूले गर्ने गरेका प्रयासहरू नतिजाविहीन हल्ला मात्र प्रमाणित हुनेछन्।
अहिले हाम्रा सामाजिक साँस्कृतिक सम्पदाहरू सबै ह्रास भैरहेका छन् भन्ने मात्रै होईन्। केही समृद्धिको यात्रा पनि गरिरहेका छन्। केही भने लोप हुने अवस्थामा पुगेका छन्। विशेष गरेर दलित समुदायले अभ्यास गरिरहेका सांस्कृतिक विधाहरू संकटमा परिहेका छन्। कारण मनोरञ्जन र अनुसंधानको समय आयो भने उपयोग गर्ने त्यसपछि बिर्सने मात्र होईन् जातीय विभेद र छुवाछूत समेत गर्ने अनि समाजमा दलित समुदाय माथी हुने विभेद, हिंसा, छुवाछूत हुँदा मौन रहने प्रवृत्तिले नयाँ पुस्ताले अग्रजको कला, शीप र ज्ञान ग्रहण गर्न छोड्दै गइरहेका छन् । जुन सीप, कला र ज्ञान आर्जन गर्न गरेको परीश्रमले सम्मानको सट्टा अपमान हुने प्रवृत्ती हावी भैरहेको छ। अनि को त्यस्ता सीप, कला र ज्ञान आर्जन गरि अपमानित हुन तयार होला।
त्यस्तै सुदूरपश्चिममा ईतिहास, भाषा, साहित्य, राजनीती, संगीत, नृत्य, अभिनय, संस्कृति लगायतका अनेकौं विधाहरूले युक्त हुड्केलीको अवस्था झण्डै झण्डै लोप हुने अवस्था पुगिसकेको जस्तो देखिन्छ। नयाँ पुस्ताले यो हुड्केली विधालाई बहिष्कार जस्तै गर्नुपर्ने एउटै कारण हो जुन पेशा अवलम्वन गर्दा न अग्रज पुस्ताले सामाजिक सम्मान प्राप्त गर्यो न त आफूले नै सामाजिक सम्मान पाउने छाँट देखिन्छ। त्यसकारण सुदूरपश्चिमको ईतिहास ,राजनीती , भाषा साहित्य कलालाई अभिव्यक्त गर्ने हुड्केली विधा पुस्तान्तरण हुन कठिन भैसक्यो। एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन नसक्ने कुनै पनि संस्कृती संरक्षण केवल पुस्तकालय र संग्रहालयमा मात्र हुन्छ। समयमै चेतिनु जरुरी छ।
संस्कृति सर्वस्वीकार्य हुँदै गयो भने त्यसको संरक्षण र सम्बर्धन आफै हुँदै जान्छ। नयाँ पुस्ताले अवलम्वन गर्न प्रोत्साहित र आकर्षित हुन्छ। त्यस्तो विधामा गायनको डेउडा विधा रहेको छ। यसको उन्नयन यसरी भएको छ कि नयाँ पुस्ता उत्पादक र उपभोक्ता आफै छ। यसले दिने मनोरञ्जन सबै उमेर समूहका मानिसहरूमा ग्राह्य छ। गायक, रचनानाकार र ग्राहक या उपभोक्ता जो पनि हुनसक्छ । यसमा जातीय भेद लैंगिक भेद, क्षेत्रीय भेद, जस्ता संकिर्ण्ताले स्थान प्राप्त गर्न सकेको छैन्। अनि यो विधा त सर्वस्वीकार्य हुन्छ नै। यसको संरक्षण र सम्बर्धन सहज हुने भैहाल्यो।
कुनै पर्व कसैको जातीय भयो भने त्यसलाई सबैको भन्ने अवस्था नि रहन्न। त्यस्ता पर्वहरू नि हाम्रो समाजमा विद्यमान छन्। जसले जातीय विभेद र छुवाछूतलाई संरक्षण गरिरहेकै छन्। तर पनि हिन्दूहरुको महानपर्व भनी शुभकामना आदान प्रदान भैरहेको छ। उहीँ धर्म र संस्कृतिलाई अवलम्वन गर्ने स्वधर्मीहरूलाई विभिन्न पर्वका अनुष्ठानहरूमा बहिष्कार गरेर धर्म र संस्कृतिको संरक्षण र सम्बर्धन हुन सक्दैन्। एकातिर हाम्रो समाज मेरी कृस्मस र ईद मुबारक भनेर सहिष्णुता प्रकट गर्न सक्छ भने अर्को तर्फ आफ्नै धर्मलाई कठिन बनाउन तयार गरिएका अनेक बाधा र अवरोधहरूलाई अझ कठिन बनाउन पछि परेको छैन्। असहिष्णुहरूले सहिष्णुताको नाटक गरेको भन्दा अरू के हुन सक्छ ?
त्यस्ता धेरै विभेद प्रधान पर्वहरू मध्ये सुदूरपश्चिममा धुमधामसंग मनाईने गौरा, गोरा या गमरा पर्व जनैपूर्णिमा पुरुषस् ब्राह्मण क्षेत्रीहरूले मात्र अभ्यास गरे झै गौरा गोरा या गमरा पर्व महिलास् ब्राह्मण क्षेत्रीले मात्र पूजा आराधना गर्ने पर्व हो। दलित महिलाहरूलाई पूजा आराधना गर्न बर्जित छ यो पर्वमा। तर पनि हिन्दुहरुको महान पर्व भन्ने गरिन्छ। के जसलाई यो पर्व अभ्यास गर्न बर्जित गरिएको छ तिनीहरू हिन्दू होइनन् ?
गौरा पर्व सुदूरपश्चिम , कर्णाली प्रदेशका केही स्थान र भारतको उत्तराञ्चलमा मात्र मनाईने भएपनि यसको सम्बन्ध हिन्दूहरुका आराध्यदेव महेश्वर र देवी पार्वती संग भएकोले यो हिन्दू पर्व नै हो। विश्वभरीका हिन्दूहरुको आस्थाका केन्द्र शिव, महादेव, महेश्वर, पार्वती गौरीका नाममा जातीय छुवाछू र विभेद बचाउने कार्यले हिन्दूधर्मको गरिमा उच्च कायम राख्न सक्तैन्। गौरा पर्वमा निहित जातीय विभेद प्रधानतालाई सुधार गरेर सबै हिन्दू समुदायले अवलम्बन गर्ने बनाउने कि विरोधीहरूलाई विरोध गर्न सहज भैरहने अभ्यास हामीहरूले निरन्तरता दिईरहने रु
यो बहसमा हामी प्रवेश नै गरेका छैनौं। यस्ता अन्य पर्वहरू र अनुष्ठानहरू नि छन्, ती सबैका बारेमा समय रहदै परिमार्जन र परिस्कार गर्न खुलेर बहस छलफल भएन भने हाम्रा मौलिक पहिचान भनेर गौरव मात्र गरेर संस्कृतिको संरक्षण हुन सक्तैन। संस्कृतिकर्मी, संस्कृतिका अध्येता, संस्कृतिप्रेमी, लोकजीवनका संपूर्ण तह र तप्का जुरुक्क उठ्न जरुरी छ। अब कसैलाई दोष दिएर बस्ने समय रहेन अब। समानता र पहिचानको बहस सडकमा छताछुल्ल भैसकेको छ।