काठमाडौं । आफ्नो पहिलो विदेश भ्रमणका रुपमा जापानमा रहेको नेपाल आइडलको टोलीले आज जापानको अर्को शहरमा दमदार प्रस्तुती दिदैछ । जापानको नागोया भन्ने शहरमा नेपाल आइडल रवि ओड लगायतको टीमले दमदार प्रस्तुती दिन लागेको हो । नेपाल आइडलले जापानमा पहिलो कन्र्सट जनवरी २ तारिख फुकुओका शहरमा गरेको थियो । जहाँ रवि लगायतले जापानस्थित नेपालीहरुलाई भरपुर मनोरंजन दिएका थिए ।
नेपाल आइडलको अन्तिम कन्र्सट भोली जनवरी ५ तारिख टोकियोमा हुनेछ । जापान टुरका लागि नेपाल आइडल विजेता रवि ओड सहित फस्ट रनर अप बिक्रम बराल, सेकेण्ड रनर अप सुमित पाठक, थर्ड रनर अप अस्मिता अधिकारी र अन्तिम पाँचमा पर्न सफल अमित बराल सहितको टोली मंगलबार जापान पुगेको थियो ।
त्यसैगरि, कार्यक्रममा नेपाल आइडलको टीममा डान्सर तथा मोडेल एलिसा राइले पनि जापानमा दर्शकलाई आफ्नो नृत्यमार्फत मनोरंजन दिइरहेकी छन । जपानमा भइरहेका कन्सर्टमा कार्यक्रम संचालकका रुपमा नेपाल आइडलका प्रस्तोता रिमा विश्वकर्मा र आशिफ शाह छन ।