काठमाडौं । पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु गाउँघरमै मेलमिलाप गर्ने गरिएको छ । गाउँकै पञ्चलाई राखेर बलात्कारका घटना गाउँमै मिलाउदा झन् घटनाहरु बढीरहेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई अब कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बझाङकी सम्झना कामीलगायत विभिन्न जिल्लामा भएका बलात्कारका घटनाको बारेमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको मध्यस्तकर्ताको भूमिका खेल्ने जो कोहीलाई मतियारको रुपमा कारवाही गर्ने निर्देशन दिएको बताएको छ ।
बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा भएका बलत्कारका घटनामा संलग्न जो कोहीलाई हदैसम्मको कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।