काठमाडौ । जापानले नेपाली कामदार लैजाने भनेपछि अहिले यो बिषय निकै चर्चामा छ । तर, जापान पठाउने कार्यमा भने अहिलेदेखि नै विभिन्न बिचौलियाहरु सकृय रहेकाले त्यस्तो भ्रममा नपर्न सरकारले ध्यानाकर्षण गरिसकेको छ ।
यस्तै नेपालले जापानमा कामदार पठाउँदा गर्ने भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनु पर्ने कुरा पनि जोडदाररुपमा उठिरहेको छ । यस्तो माग अन्यबाट भन्दा पनि रोजगारदाता जापान सरकारबाटै आएको हो ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गर्दै नेपालबाट कामदार पठाउदा कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा पारदर्शी रुपमा छनोट हुनुपर्नेमा जोड दिएको हो । कामदार जापान जाँदा कुनै पनि बिचौलियाबाट ठगी नहोस् भन्ने विषयमा आफूहरु सजग रहेको मन्त्री बिष्टले बताएका थिए ।
नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा जापानी सरकार सजग रहेको समेत उनको भनाई थियो ।
सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
उहाँले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको समेत मन्त्री बिष्टलाई जानकारी दिए । नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह आगामी माघमा नेपाल आउँदैछ ।