काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा आजदेखि सुपथ मुल्य पसल सञ्चालन गरेको हो ।
दशैं–तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् न् ।
संचालन गरिएका सहुलियत पसलमा दैनिक उपभोग्य दाल, चामल, चिनी, नून र खानेतेल, खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म सस्तोमा सामान किन्न पाइनेछ ।
सुपथ मुल्य पसल काठमाडौं उपत्यकाका रामशाहपथ, टेकु, नख्खु, सूर्यविनायक, कलंकी, थापाथली, बनेपा र कोटेश्वर लगायतका स्थानमा सञ्चालन भएका छन् । यस्तै, कर्पोरेशनले कालीमाटी (२), कोटेश्वर, सतुङ्गल, जावलाखेल र भक्तपुर लगायतका स्थानमा सहुलियत र घुम्ती पसल सञ्चालन गर्ने जनाएको छ ।
सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
साविक मुल्यमा छुट यस्तो छ । (प्रतिकेजी–लिटर)
नून – २ रुपैयाँ
दाल – ५ रुपैयाँ
चिउरा – ५ रुपैयाँ
आटा – ५ रुपैयाँ
तेल (तोरी) – ५ रुपैयाँ
तेल (सूर्यमुखी) – ५ रुपैयाँ
चिनी – ५ रुपैयाँ
चामल – ५ रुपैयाँ
खासी र बोका (जिउँदो) – १० रुपैयाँ
सिमी – १० रुपैयाँ
फापर – १० रुपैयाँ
तेल (भटमास) – १० रुपैयाँ, छुटमा किन्न पाइनेछ ।