नागरिक अगुवाको आग्रहमा डा. केसीले अनसन तोडे, सरकारसँगको लडाई जारी

काठमाडाैं । अनसनरत डा.गोविन्द केसीले आफ्नो १६ औं सत्याग्रह अन्त्य गरेका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २४ दिन देखि अनसनरत् केसीले शुक्रबार राति सत्याग्रह अन्त्य गरेका हुन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले केसीलाई जुस पिलाएर सत्याग्रह तोडाएका हुन्। चिकित्सा शिक्षा विधेयकमा विगतमा भएका सम्झौताहरूमा सरकार असंवेदनशील भएको भन्दै तत्कालका लागि सत्याग्रह तोडे पनि आगामी दिनमा संघर्ष जारी रहने बताएका छन्।

केसीको मागविपरीत चिकित्सा शिक्षा विधेयक संसदका दुबै सभा बाट पास भएको थियो । केसीले तत्काल चिकित्सा शिक्षा विधेयकमा भएका त्रुटि सच्याउन सरकार, संघीय संसद, राष्ट्रिय सभा तथा सांसदहरूलाई आग्रह गरेका छन्।

लामो सत्याग्रहमा रहँदा केसीको जीवन जोखिमपूर्ण बन्दा पनि सरकार उदासिन भएपछि नागरिक अगुवाले अनसन तोड्न केसीलाई आग्रह गरेका थिए। केसीले आफ्नो आन्दोलन नरोकिएको र आगामी दिनमा जारी रहने बताएका छन्। उनले भने मेरो आन्दोलन जारी छ, चिकित्सा विधेयकमा भएको त्रुटि सच्याउनुपर्छ, नसच्याइएको खण्डमा पुनः म आन्दोलन गर्नेछु ।

केसीले आफ्नो माग पूरा नहुनुमा सरकार र प्रधानमन्त्री केपी ओलीलाई दोष देखाएका छन्। विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षाकै सुधारका लागि कानुन निर्माण गर्दा समस्याको मूल जडको रुपमा रहेको सम्बन्धनलाई ज्यूँका त्यूँ राख्ने, सम्बन्धनको विकृतिलाई कानुनी वैधानिकता दिने र माफियाहरूलाई फाइदा गर्ने किसिमबाट विधेयक आउनुले सरकारको नियत स्पष्ट भएको बताएका छन्।

सरकारले आफूलाई निर्वाचित गर्ने तीन करोड जनताको हितमा हैन, आफूनिकट एक व्यक्तिका लागि कानुन बनाउँदै नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको उत्कर्ष उदाहरण पेश गरेको छ। यसले सरकार र सत्तारुढ पार्टीको वैधतामाथि गम्भीर प्रश्न उठाएको छ, विज्ञप्तिमा उल्लेख छ।

केसीले चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनहरुबाट पारित गर्ने बेला सरकारले गरेको जबर्जस्ती र अधिनायकवादी प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाएको जनाएका छन्। यसरी पारित गरिएको ऐन स्वीकार्य नहुने समते बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार