काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । ६१ हजार ७ सय ६७ मत ल्याएर स्वतन्त्र उम्मेदवार साह महानगरको मेयरमा निर्वाचित भएका हुन् ।
साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याइन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत ल्याए ।
त्यस्तै महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका थिए ।