काठमाडौं । चन्द्रागिरी नगरपालिका ८ बाट महानगरी प्रहरी प्रभाग बलम्वुले १२ हजार ४ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । सुँगुरको खानाका लागि प्रयोग हुने अखाद्य खाना घरेलु मदिरा उत्पादनमा प्रयोग भएको थाहा पाएपछि प्रहरीको टोलीले सोमबार मदिरा बरामद गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ कञ्चन बस्तीको एउटा भवनमा अखाद्य बस्तुबाट घरेलु मदिरा बनाइन्छ भन्ने विशेष सूचना पाएपछि छापा मार्दा मदिरा बनाउने कारखाना नै फेला पारेको छ ।
उक्त कारखानामा राजधानिका विभिन्न ठाँउबाट ल्याइएको अखाद्य खाना घरेलु मदिरा बनाउन प्रयोग गर्ने गरेको थाहा भएको महानगरी प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले बताएका छन् ।
प्रहरीले तीन वटा सुविधा सम्पन्न घरबाट घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र बनाउन प्रयोग हुने दुई ट्रक सामग्री बरामद गरेको छ।
गाउँघरमा घरेलु मदिरा सेवनका कारण समाजमा विभिन्न हिंसाका घटना बढ्ने गरेको गुनासो आए पनि सरकारले पछिल्लो समय घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरेको छ ।