काठमाडाैं । गर्मी बढ्न थालेपछि लेयर्स कुखुरामा संक्रमण देखिन थालेको छ । हेटौंडाका किसानले पालेका लेयर्स कुखुरामा केहिदिन यता देखि संक्रमण देखिन थालेको हो । संक्रमणका कारण अण्डाका लागि पालिएका लेयर्स कुखुरा एक्कासी मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
ऋण निकालेर कुखुरा पालन गरेकी स्थानीय चिरनदेवी गौतमका मात्रै सात सय कखुरा मरेका छन् । कुखुराले अण्डा दिएपछि ऋण तिर्ने सोच बनाएकी गौतम कुखुरा अण्डा नदिदै भर्न थालेपछि निकै चिन्तित छन् ।
एकपछि अर्को गर्दै गाउँमा सबैका कुखुरा मर्न थालेपछि किनासले सम्बन्धीत निकायलाई आग्रह समेत गरेका थिए । किसानको आग्रहमा सोमबार स्थानीय प्रशासन र पशुसेवा कार्यालयको टोलीले हेटौंडा ७ नागस्वतीमा रहेको किसानको खोर निरीक्षण गरेको छ । टोलीले निरीक्षणसँगै रोगको संक्रमण उच्च रहेको आशंका गरिएका ५ वटा खोरबाट कुखुराको नमुना संकलन गरेको छ ।
निरीक्षण टोलीले दीपेन्द्र गौतमले सञ्चालन गरेको डीएस पोल्ट्रि फर्म, नवराज सिलवाल र कुवेरप्रसाद चौलागाईंको फर्म, अनिश पोल्ट्रि फर्म र दुर्गा महतको खोरबाट नमुना संकलन गरेको हो ।
गौतमले सञ्चालन गरेको खोरमा २ हजार ८ सय चल्ला हालिएकोमा ७ सय, सिलवालले ४ हजार पालेकोमा २५ सय, चौलागाईले २४ सय र अनिष पोल्ट्रिको ६ हजार र महतको खोरबाट अण्डा दिने अवस्थाका कुखुरा मरेको उनीहरुले बताए । निरीक्षणपछि प्रशासनले नमुना संकलन गरेको ठाउँका कुखुराजन्य उत्पादन बिक्रीमा रोक लगाइएको छ ।
टोलीले संकलित नमुना चितवन पठाए र आएको रिपोर्टका आधारमा अन्य काम अगाडि बढाउने बताएको छ । रिपोर्ट आउन भने १० दिन लाग्ने उनले जानकारी दिए । गाउँमै सरकार पुगेको भनिए पनि स्रोत साधन र कर्मचारी अभावका कारण किसानले पाउने सेवा सुविधामा ढिलाई भइरहेको छ ।