काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वसंचारकर्मी रवि लामिछानेमाथि खनिएका छन् ।
आज काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लामिछानेलाई जनतामा भ्रम छरिरहेको भन्दै कडा आलोचना गरेका हुन् । केहि जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको ओलीले टिप्पणी समेत गरे ।
लोकतन्त्र, गणतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ सम्म भनेका छन् ।
अहिलेको परिर्वतन ल्याउनमा हजारौं नेपाली जनताले बलिदान, संघर्ष, त्याग, जेलनेल, अंगभंग भएकाहरुको अपमान हिंडेको भन्दै अध्यक्ष ओलीले लामिछाने त्यस्तो नर्गन चेतावनी समेत दिए ।
लामिछानेप्रति संकेत गर्दै ओली भनेः ‘देशमा लोकतन्त्र, गणतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन ?’
लामिछानेले केहि युवाहरुलाई उचालेर समाजमा कुसंस्कार, विकृती र राजनीतिबारे गलत भ्रम फैलाउँदै हिडेको ओलीले आरोप पनि लगाए ।
लोकतन्त्र ल्याउन लडेका नेताहरु, पार्टीहरुलाई घोर अपमान गर्दै तथानाम बोल्दै हिंड्नेहरुको देश बिगार्ने भाँड्ने तरिका भएको उनको भनाई छ ।
‘त्यसरी डेमोक्रेसी ल्याएको नेताहरु पार्टीहरुलाई अपमान गरेको छ, तथानाम बोलेको छ, कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, यो सबै कुरासँग सतर्क हुनुपर्छ । यो देश बिगार्ने भाँड्ने तरिका हो, भडुवाहरुको तरिका हो,ओलीले भने ।
ओलीले युवालाई पार्टी चाहिँदैन भनेर लामिछानेले भ्रम फैलाउन खोजेको बताए। पार्टीविना दुनियां नचल्ने भन्दै ओलीले दुई चार ठाउँमा स्वतन्त्र उम्मेदवार जित्दैमा त्यसले समग्रताको प्रतिनिधित्व नगर्ने दावी गरे ।
‘पार्टी विना दुनियाँ चलेको छैन, नेपालमा यस्तो हावा चलाइदिएको छ कि पार्टी चाहिँदैन । अमेरिकामा पार्टी चाहिन्छ, बेलायतमा पार्टी चाहिन्छ, फ्रान्स, चीन, जापान, भारतमा पार्टी चाहिन्छ, जहाँ पनि पाटी चाहिन्छ, अनि नेपालमा पार्टी चांहिदैन् भनेर भ्रम छरेर हुन्छ ? ओलीले प्रश्न गरे ।
पार्टी र नेतामा कमिकमजोरी भएको स्विकार्दै अध्यक्ष ओलीले सबै पार्टी र जनता एकजुट भएर मात्रै देश बन्ने बताए ।