काठमाडौं । कुनै देशको सरकारले नै स्वास्थ्यका लागि हानिकारक मानिने रक्सी आफ्ना देशका युवाहरुलाई टन्न पिउनु भन्छ र ? अचम्म नमान्नुस तर जापान सरकारले आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी रक्सी पिउन अनुरोध गरेको छ ।
देशमा रक्सीको बिक्री घट्न थालेपछि बिक्री बढाएर राजश्व संकल्न गर्ने उदेश्यले जापान सरकारले “साका भिभा” नामक अभियान नै सुरु गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरूलाई टन्न रक्सी पिउन आग्रह गरिएको छ ।
समाचार एजेन्सीहरुले जनाएअनुसार सरकारको उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ । जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण रक्सीजन्य पेय पदार्थको खपत घटिरहेको बताइएको छ ।
जापानमा युवापुस्ताले उनीहरूको अभिभावक पुस्ताले भन्दा कम रक्सी पिउने गर्ने गरेका छन् । जसका कारण रक्सीबाट उठ्ने करमा निकै कमी आएको छ ।
कर एजेन्सीको रिपोर्ट अनुसार जापानीहरूले खपत गर्ने रक्सी सन् १९९५ को तुलनामा सन् २०२० मा घटेको छ । हरेक जापानी वयस्क व्यक्तिले सन् १९९५ मा औसतमा वार्षिक १०० लिटर रक्सी पिउने गरेकोमा सन् २०२० मा ७५ लिटरमा झरेको छ । यसरी रक्सी प्रयोगकर्ता घट्न थालेपछि राजश्वमा असर पर्ने भएकाले सरकारले नै युवाहरुलाई रक्सी टन्न पिउन अपिल गरेको हो ।