काठमाडौं । बृद्धबृद्धालाई भत्ता दिएर लोकपृय बन्नु भएका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी अब हामी माझ रहेनन् । केहि समयदेखि अस्वस्थ रहेका अधिकारीको ८२ वर्षको उमेरमा काठमाडौंको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राती निधन भएको हो ।
पछिल्लो समय विभिन्न रोगबाट ग्रसित अधिकारीको स्वास्थ अवस्था हिजोदेखि स्थिर रहेको थियो । अधिकारीका एक श्रीमती र तीन छोरीहरु छन् ।
विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा अधिकारीको जन्म भएको थियो । उनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् ।
अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ।
बृद्धभत्ताबाट लोकपृयता
नेता अधिकारीले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बृद्धबृद्धालाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेलाको नौ महिने एमाले सरकारले बृद्धबृद्धालाई मासिक १०० रुपैयाँ भत्ता दिन सुरु गरेको थियो । जुन अहिलेसम्म पनि निरन्तर जारि छ ।
नेता अधिकारीले आफ्नो पालामा सुरु गरेको यो कामले उनको पार्टी र स्वयम नेता अधिकारीको ब्यक्तीगत राजनितीक जिवनमा निकै सकारात्मक प्रभाव पार्यो ।