काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अब निर्वाचन आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने बताएका छन् । आइतबार अयोगमा आयोजित समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व पुरा भएकाले अब आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने बताएका हुन् ।
उनले समानुपातिक सांसदहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरेसंगै संसद्को अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भएको समेत बताए। अब छिट्टै संसद् अधिवेशनमार्फत मुलुकले नयाँ सरकार पाउने समेत उनले बताए ।
आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद्हरु सुचारु भएपछि त्यसको प्राविधिक तयारी आयोगले गर्ने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि बन्ने निर्वाचनमण्डलमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद रहने जानकारी दिए । उनीहरुको मतको आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुनिन्छन् । फागुन दोस्रोसातासम्म हालका राष्ट्रपति रउपराष्ट्रपतिको कार्यकाल रहेकाले त्यही मिति आगाडि आयोगले सबै काम पुरा गर्ने गरी अघि बढ्ने उनको भनाई छ ।