जगन्नाथ खतिवडा भन्छन्ः सरकारमा जाने निर्णय भएको छैन्, तत्काल कसैसंग पार्टी एकता हुँदैन्


काठमाडौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी सरकारमा जानेबारे निर्णय भइनसकेको बताएका छन् । उनले यसबारे आज सामाजिकसंजालमार्फत प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा  निर्णय गरि नसकेको र त्यसबारे पार्टीमा छलफल भइरहेको जानकारी दिएका हुन।

एकीकृत समाजवादी तत्काल कुनैपनि पार्टीसंग एकीकरण गर्ने गरी अगाडी नबढेको पनि प्रचार विभाग प्रमुख खतिवडाले  बताए । उनले बजारमा आएका हल्लाको भ्रममा पनि नपर्न आग्रह गरेका छन् ।

पार्टी सुदृढीकरणको योजना बन्दै गरेकाले पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भन्ने बिषयमा बिचार बिमर्शमा रहेको पनि उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘बजार हल्लाको भ्रममा नपरौ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यति बेला पार्टी सुदृढीकरण को योजना बनाउदै छ। पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर बिचार बिमर्शमा छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बैठकहरु आयोजना गर्ने तयारी गर्दैछ। प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन, छलफल चल्दैछ। तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुदैन’, खतिवडाले स्टाटसमा लेखेका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई हिजोमात्रै कम्युनिष्ट नेता बामदेव गौतमले सुझाव दिएका थिए । माधव नेपालसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए । उता नेकपा एमालेले पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने बताइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार