काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा भएको व्यवस्थाविरुद्ध कसैले प्रहार गर्न खोजे सैह्य नहुने बताएका छन् । उनले राजावादीहरुको आन्दोलनतर्फ संकेत गर्दै मसानघाट पुगेको प्रेत ब्यूत्याउने प्रयास कदापी सफल नहुने चेतावनी समेत दिए । आज काठमाडौंमा सुरु भएको एमाले निकट अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई जगाउने षड्यन्त्र सफल नहुने चेतावनी दिएका छन् ।
उनले जनताको हकअधिकार खोस्ने त्यस्ता सामन्ती प्रेत फर्काउने प्रयासलाई खबरदारी गर्न अनेरास्ववियुका नेताहरुलाई निर्देशन पनि गरे । महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न समेत अनेरास्ववियुले अग्रसरता लिनुपर्ने बताए ।
उनले लोकतन्त्रलाई संस्थागत गर्न आफुहरु पहरेदारका रूपमा बलियो भएर उभिने समेत बताए।
हिजो मात्रै एमालेमा नेता भनिएका दुर्गा प्रसाईले झापामा राजतन्त्र र हिन्दूराज्य स्थापना गर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै कार्यक्रममा सहभागी गराएर अभियानको सुरुवात गरेका थिए ।