काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिएका छन् । बुधबार विहान छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले होलीले सबै नेपालीमा आपसी सद्भाव र राष्ट्रिय एकतालाई अझै बलियो बनाउन सहयोग मिलोस् भन्ने कामना गरेका छन् ।
राष्ट्रपति भण्डारीले होलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छन् । सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।
उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सदभाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’
उपराष्ट्रपति पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन होलीले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । सरकारले दुबै दिन सार्वजनिक विदा दिएको छ ।