काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी सहित पाँचवटै आयोगका अध्यक्षले सपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारी सहित पाँचवटै संवैधानिक आयोगका अध्यक्षहरुलाई संविधान बमोजिम नियुक्त गरेपछि विहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले उनीहरुलाई सपथग्रहण गराएका हुन् ।
यस अघि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको शैक्षिक प्रमाणपत्रका विषयमा उठेको प्रश्नका कारण सफथग्रहण रोकिएको थियो । संसदीय सुनुवाई विशेष समितिले अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरीलाई टुंगो लगाउन नसकी सिफारिसको ४५ दिन कटेकाले अन्सारी स्वतः नियुक्त भएका छन् ।
संविधानअनुसार संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाई समितिले स्वीकार वा अस्वीकारको निर्णय ४५ दिनभित्र दिनुपर्छ । तर अन्सारीको मामिलामा नेकपाभित्रै विवाद भएपछि संसदीय समिति अनिर्णित भएको थियो ।
विहीबार राष्ट्रपति भवन शीतल निवासमा बित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदी,मधेशी आयोगका अध्यक्ष बिजयकुमार दत्त र थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीले सपथ्रहण गरेका हुन् ।
लामा समय देखि आयोग पदाधिकारी विहिन हुँदा कर्मचारीलाई काम गर्न समस्या भएको थियो । पाँचवटै आयोगका अध्यक्षले अब आफ्नो काम सुरु गर्नेछन्, भने कर्मचारीलाई पनि काम गर्न सजिलो हुने भएको छ ।
पाँचवटा आयोगमा अध्यक्षले सफथ लिएपनि महिला आयोग र दलित आयोग भने अझै पदाधिकारी विहिन छन् ।