गुण्डा नाइके चक्रे मिलनका सहयोगी बोगटी राइफलसहित पक्राउ

काठमाडौं । गुण्डा नाइकेका रुपमा परिचित मिलन गुरुङ उर्फ चक्रे मिलनका एक सहयोगी ‘पोइन्ट टुटु’ राइफलसहित पक्राउ परेका छन् ।
मिलनका सहयोगी बाँकेको बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले बताए ।

मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘पोइन्ट टुटु’* राइफलसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले यसबारे अनुसंन्धान गरेको थियो ।

राठौरले बताएअनुसार बोगटीले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उनले सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा आवद्ध छन् ।

चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् । २०६२ / ०६३ को जनआन्दोलनपछि काठमाडौंको ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो। गुण्डागर्दीविरुद्ध प्रहरी आक्रामक बनेपछि उनिहरु राजनीतिक संरक्षणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार