गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वमा सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढलेको हो । आज बसेको प्रदेशसभा बैठकमा अधिकारीले आफुलाई विश्वासको मत मागेका थिए ।
विश्वासको मत विभाजन हुँदा उनको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मात्रै मत दिए।

अधिकारीको विपक्षमा कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसद राजिव गुरुङले विपक्षमा मत दिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा अधिकारी पुस २५ गते मुख्यमन्त्री बनेका थिए । उनले पुस २९ मा विश्वासको मतसमेत लिएका थिए । तर, केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै माओवादी सरकारबाट बाहिरिएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

अब नयां सरकार गठनका लागि प्रदेश प्रमुखले दलहरुलाई आव्हान गर्नेछन् । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार वा धारा १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने भन्ने अन्यौल देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार