पर्सा । यसबर्षको परीक्षामा सांसद देखि नायिकासम्मको सहभागीताले चर्चा पाइरहेका बेला विभिन्न अपराधमा जेलपरी सजाय भोगिरहेका कैदीहरु पनि परीक्षामा सामेल भएका छन । देशभरीबाट कति कैदीहरुले इसईई परीक्षा दिइरहेका छन भन्नेबारे यकिन जानकारी नभएपनि पर्सा जिल्लामा भने १९ जना कैदीहरु परीक्षामा सहभागी भएका छन ।
जिल्ला कारागार र बाल सुधार केन्द्रबाट विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका १९ जना युवाले पहिलो दिनको परीक्षा दिएका छन् ।
गम्भिर प्रकृतीका मुद्दामा सजाय भोगीरहेका कैदीहरुलाई कडा सुुरक्षाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको पर्सा जिल्ला कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए ।
एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ले फारम भरेका थिए । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कूल २४ परीक्षा केन्द्र तोकिएको छ ।