काठमाडौं । बरामद भएको झण्डै सय किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको बताइएको छ । नेपाल छोडेर जाने तयारीमा रहेका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
हिजो दिउँसो विमानस्थल भन्सारबाट पास भएर ट्याक्सीमा लग्दै गर्दा सिनामंगलमा बरामद भएको झण्डै एक कुण्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन अहिले जोख्नका लागि काठमाडौंको बबरमहलस्थित राष्ट्र बैकको टक्सार महाशाखा पठाइएको छ । तस्करले मंगलबार हङकङबाट विमानमार्फत मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएका थिए ।