काठमाडौं । चैत्र १६ नेपाल बन्द नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय परेकाले नेपाल बन्द नगर्न आग्रह गरेको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गरी एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको हो । एसईईको चैत १६ गते माध्यमिक शिक्षा परीक्षमा जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ ।
बन्दले गर्दा आमा नागरिकलाई हिड्डुल गर्न समस्या हुनका साथै, परिक्षार्थिलाई समस्या हुने भएकाले यो विषय आयोगले उठाएको हो । आयोगको विज्ञप्तीमा आम नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारीलगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।
सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।
त्यसैगरी आयोगले राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै पनि नागरिकलाई धरपकड नगर्न र संविधानप्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
वार्ताबाटै समस्याको निकास निकाल्न पनि आयोगले विप्लव समूह र सरकारलाई आग्रह गरेको छ ।