काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। निरन्तरको संसद अवरोध हटाउने विषयमा छलफल गर्न मंगलबार बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध गरेपछि यसबारे बैठकमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहनेछ ।
सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । यो बीचमा विभिन्न तहमा छलफल भएपनि सहमति जुट्न नसकेपछि राष्ट्रपतिले अग्रसरता देखाएका हुन् ।
आजैमात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए । तर उक्त बैठक निष्कर्षविहीन बनेको थियो ।