काठमाडौं । प्रतिनिधिसभाको विभिन्न संसदीय समितिको सभापतिका लागि सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार सांसदहरुले विभिन्न समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
यसअघि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिको भागवण्डामा सहमति भएपछि आइतबार उम्मेदवारी दर्ता प्रक्रिया अगाडी बढेको हो । उनीहरुबीच प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिको नेतृत्वमा भागवण्डा गरेका थिए । जसमा नेकपा एमालेले एउटा संयुक्त समिति, सार्वजनिक लेखा समितिसमेत गरी ३ वटाको नेतृत्व पाएको छ ।
नेकपा एमालेको तर्फबाट लेखा समिति सभापतिमा ऋषिकेश पोखरेलले र महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र अर्थ समितिको सभापतिमा सन्तोष चालिसेले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दिएकी छन् । दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली र जनमत पार्टीका अब्दुल खानले संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।