काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी स्ववासीका समस्या बुझ्न मरु हिटी पुगेकी छन् । काठमाडौं महानगरपालिका वडा १९ को मरु हिटी क्षेत्रमा बसोबास गर्ने स्ववासीहरुको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ आइतबार मरु हिटी पुगेकी हुन् ।
मरु हिटीमा स्थानीयबासीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्ववासीहरुको समस्या समाधानका लागि पहल गर्ने बताएकी छन् । उनले बर्षौ देखि समस्यामा परेका स्थानीय स्ववासीहरुलाई जग्गाधनीपुर्जा उपलब्ध गराउनका लागि आफुले सक्दो सहयोग गर्ने बताइन् ।
काठमाडौं महानगरपालिका वडा १९ मा बसोबास गर्ने स्ववासीहरुले मन्त्री श्रेष्ठलाई काठमाडौको सभ्यताको बिकासक्रमदेखि नै बसोबास गर्दै आएका र हालसम्म पनि जग्गाधनीपुर्जा नपाएकोले विभिन्न समस्या भोग्नुका साथै राज्यबाट पाउनुपर्ने न्युनतम सुविधाबाट समेत वञ्चित हुदै आएको बारे जानकारी गराएका थिए ।
सदियौ देखि बसोबास गर्दै आएको आधारमा उनीहरुलाई जग्गाधनीपुर्जा दिनुपर्ने र यसका लागि अधिकारसम्पन्न आयोग गठन गरी निवेदन दर्ता र छानबिनको काम राज्यले अगाडी बढाउनुपर्ने माग पीडितले गरेका छन् ।
मन्त्रीको प्रत्यक्ष भ्रमणपछि स्थानीय बासी आफ्नो समस्या हल हुनेमा आशावादी रहेको स्थानीय युवा अगुवा प्रतिक खडगीले बताएका छन् ।
कार्यक्रममा सोही क्षेत्रका स्थानीय बासिन्दा बागमति प्रदेश सभाका सदस्य समिता खडगी, स्थानीय अगुवालगायत अन्य स्थानीय बासीको सहभागिता रहेको थियो ।