काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । संगठनले बुधबार कम्पनीको तालिम हलमा एक कार्यक्रमको आयोजना गरि आधिकारीक ट्रेड युनियनको निर्वाचनका लागि संगठन अध्यक्ष घनश्याम अर्यालद्वारा घोषणम पत्र सार्वजनिक गरिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन यहि भाद्र २४ गते आधिकारीक ट्रेड युनियनको निर्वाचन घोषणा गरेको । निर्वाचनमा देशका सात वटै प्रदेशमा रहेका कम्पनी लिमिटेडका कर्मचारीहरुले मतदान गर्ने छन् । अहिले दुई वटा पक्ष काँग्रेस र बामपन्थीबीच चुनाव हुने देखिएको संगठनका महासचिव रुद्र देवकोटाले अनमोल पोष्टलाई जानकारी दिएका छन्।
संगठनले आधिकारीक ट्रेड युनियनको निर्वाचनका लागि सात वटै प्रदेशको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ ।
संगठनले “ सङ्गठित शक्तिको आधार, आधिकारिकताको अधिकार ” भन्ने नारा राखेको छ ।
संगठनले बुधबार सार्वजनिक गरेको चुनावी घोषणा पत्र यस्तो छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
कर्मचारी संगठन
आधिकारीक ट्रेड युनियन निर्वाचन ।
कर्मचारी संगठनको चुनाव चिन्हमा मतदान गरौ।
पेशागत हकहित र अधिकारको सुरक्षा गरौ ।।
चुनाव – चिन्ह
घोषणा– पत्र २०८०
“ सङ्गठित शक्तिको आधार, आधिकारिकताको अधिकार ”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन
आधिकारिक ट्रेड युनियन निर्वाचन
घोषणा– पत्र २०८०
आदरणीय कर्मचारी मित्रहरु,
हार्दिक अभिवादन ।
विश्व इतिहासको स्मरण रहोस् अमेरिकाको शिकागो सहरको हेय मार्केटमा बम विस्फोट भयो।विस्फोट कोबाट गराइएको थियो खुल्न सकेन तर पनि प्रहरीबाट व्यापक दमन भयो, प्रहरीको गोली लागेर 7 जना मजदुरहरुको ज्यान गयो, यो थियो विश्व मजदुर आन्दोलनको ऐतिहासिक दिन सन् 1886 मे १,। विश्व श्रमिक आन्दोलनमा जस्तै 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको माग राख्दै रघुपति जुट मिल (पछि विराटनगर जुट मिल भनिएको) विराटनगरमा आम हड्ताल गरिएको दिन थियो वि.सं. 20०३ फागुन 20 गते।संक्षेपमा विश्व श्रमिक आन्दोलन र नेपालको ट्रेड युनियन आन्दोलनलाई हामी यसरी नै सम्झिन्छौँ।
औद्योगिक प्रतिष्ठानका व्यवस्थापक तथा सञ्चालकहरुबाट प्रतिष्ठानमा कार्यरत श्रमिक वर्गहरुमाथि चरम श्रम शोषण, विभेद, दमन, न्यून वेतन जस्ता अमानवीय क्रियाकलाप हुन थालेपछि त्यसका विरुद्ब सामुहिक संघर्ष गर्ने दौरानमा औद्योगिक प्रतिष्ठान तथा सरकारी स्वामित्व प्राप्त संस्थानहरु र निजामती कर्मचारी वृत्तमा औपचारिक रुपमा ट्रेड युनियनहरुको जन्म हुन गएको देखिन्छ। ट्रेड युनियन गठनको पूर्वार्द्धमा विशुद्ब सामूहिक हकहित र सोको प्राप्ति पश्चात सामूहिक सौदाबाजी गर्ने एक मात्र उद्देश्य रहेको पाइन्छ। समय क्रममा बहुदलीय व्यवस्थाको स्थापना, ट्रेड युनियनहरुको सामूहिक शक्ति र यसले शासन व्यवस्थामा पार्न सक्ने प्रभावका कारण ट्रेड युनियनमा राजनैतिक दलहरुको नजर पर्यो, तत्पश्चात ट्रेड युनियनहरु समेत विभिन्न राजनैतिक खेमामा विभाजित हुन पुगेको देखिन्छ ।भलै सम्पूर्ण ट्रेड युनियनहरुको मूल उद्देश्यमा भने परिवर्तन आएको देखिँदैन मजदुर/ कर्मचारीहरुको सामूहिक हकहित र यसका निमित्त सामूहिक सौदाबाजी नै हो, यसै तथ्यलाई मध्यनजर गरेर विगतदेखि नै कम्पनीका सम्पूर्ण कर्मचारीहरुको साझा संगठनको रूपमा कर्मचारी संगठन आम कर्मचारीहरुको पेसागत हकहित र सुरक्षाका लागि पहरेदारको रुपमा रहेको कुरा यहाँहरुलाई विदितै छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन आफ्नो स्थापनाकालदेखि नै अनेकौँ चुनौतीका बावजुद कम्पनीको वृहत्तर उन्नति तथा यसका संवाहक आम कर्मचारीवर्गको हक हितको रक्षाका लागि कम्पनी व्यवस्थापनसँग होओस् वा नेपाल सरकारका अन्य सम्वन्धित निकायहरुसँग होओस् खरो र स्पष्ट रुपमा प्रस्तुत भई, धेरै उपलब्धीहरु हासिल गर्न सकेको व्यहोरा जगजाहेर छ ।
प्रिय कर्मचारी मतदाता मित्रहरु।
ट्रेड युनियन ऐन अन्तर्गत यस कम्पनीमा मिति २०८० भाद्र २४ गते आधिकारीक ट्रेड युनियनको लागि निर्वाचन हुन गइरहेको छ ।यस अवसरमा कर्मचारी संगठन सम्पूर्ण कर्मचारी मित्रहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन यस कम्पनीका सम्पूर्ण कर्मचारीहरुको पेसागत प्रतिनिधिमूलक संस्था हो।वर्तमान सन्दर्भमा कर्मचारी संगठनले आम कर्मचारीहरुको विश्वास प्राप्त गरी आधिकारिक हुने बाटोमा अघि बढिरहेको छ ।कर्मचारी संगठनको नेतृत्वमा कर्मचारीहरुले विगतमा प्राप्त गरेका उपलब्धी तथा संगठनको भावी कार्यक्रमको प्रतिवद्बताका आधारमा कर्मचारी संगठनको मूल्याङ्कन हुने नै छ, कर्मचारी संगठनको नेतृत्वमा विगतमा यस कम्पनीमा भए गरेका मुख्य मुख्य काम कारवाहीलाई यस अगाडि प्रकाशित गरेका अपिल तथा विज्ञप्तिहरुबाट आम कर्मचारी मित्रहरुमा जानकारी गराई सकेका छौँ ।कम्पनी सुदृढीकरण र कर्मचारीहरुको हकहित संवर्द्बन गर्ने दिशामा क्रियाशीलतालाई अझ सशक्त बढाउँदै लैजाने विश्वास यँहाहरूलाई दिलाउन चाहन्छौं ।कम्पनीभित्र झाँगिदै गएको विकृति विसंगति, त्यसले कम्पनीमा पारेको प्रभाव र कर्मचारीको मनोबलमा आएको गिरावटलाई हटाउदैं कम्पनीलाई अग्रगतिमा लैजान कर्मचारी संगठनले विगतदेखि प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको कुरामा यहाँहरु जानकार नै हुनुहुन्छ, अझ यसलाई सशक्त ढंगले अगाडि बढाउन कर्मचारी संगठनले आवश्यक पहलकदमी चाल्ने विश्वास हामी यहाँहरुलाई दिलाउँन चाहन्छौँ।
कर्मचारी संगठन वर्तमान अवस्थामा यस कम्पनीमा भएको अन्यौल र अनिश्चितताको अन्त्य तथा कर्मचारीहरुको हकहितको पक्षपोषण जस्ता कुरालाई मध्यनजर राख्दै कर्मचारीहरुको पेसागत हकहित तथा कम्पनी सुदृढीकरणका विभिन्न क्षेत्र र विषयमा कर्मचारी संगठनले निम्न उद्देश्यहरुलाई मार्गदर्शक मानी देहायमा उल्लिखित प्रतिवद्बताहरु यस घोषणापत्र मार्फत अगाडि सारेको छ।
कर्मचारी संगठनको उद्देश्य
- सवल र समृद्ब कम्पनी संगठनको पहिलो शर्त भएकोले कम्पनीको समग्र पक्षको सुदृढीकरण नै कर्मचारी संगठनको प्रमुख उद्देश्य रहेको छ ।
- आम कर्मचारीहरुलाई आफ्नो हक अधिकार र दायित्वका बारेमा सचेत गराउँदै पेसागत सुरक्षाको ग्यारेन्टी गराउने।
- कर्मचारीहरुको सर्वोतोमुखि विकासका लागि सबै खाले आन्दोलनहरुमा सक्रिय रही प्रगतिशील ट्रेड युनियनलाई सुदृढ गर्न सहयोग गर्ने।
- समय सापेक्ष हुने गरी कर्मचारीको सेवा, शर्त र सुविधाहरुमा अभिवृद्बि गराउने।
- व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थपूर्तिमा बदल्न सक्षम क्रियाशील र जुझारु नेतृत्व निर्माण गर्ने।
- जनमुखि सेवा र स्वच्छ प्रशासन मार्फत कम्पनीका सवै सेवाहरुलाई जनउत्तरदायी बनाउन आवश्यक पहल गर्ने ।
हाम्रो प्रतिवद्बता
कम्पनीको संरक्षण र सम्वर्द्बन तर्फः
- संगठनका तर्फबाट कम्पनीको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई सञ्चालक समितिमा पेश गरिनेछ र कम्पनी व्यवस्थापनबाट कार्यान्वयनमा ल्याउन जोडदार पहल गरिनेछ।
- समय सापेक्ष हुने गरी कम्पनीका वर्तमान प्रवन्धपत्र, नियमावली र विनियमावलीहरुमा संशोधन गर्न आवश्यक पहल गरिने छ ।
- कम्पनीको नियमावलीमा लिपिवद्ब गरिएका उद्देश्यहरु हासिल गर्न सम्वद्ब निकायहरु बीच समन्वय एंवम् सहकार्य गर्ने र आवश्यकता अनुसार दवाव सृजना गरिनेछ ।
- हाल भैरहेका व्यापारिक क्रियाकलापहरुको विविधीकरण र प्रर्वद्बन एंवम् कम्पनीलाई लाभ हुने क्षेत्र पहिचान गरी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गरिने छ।
- कारागारको अलावा नेपाली सेना, नेपाल प्रहरीलाई, सरकारी अस्पताललाई आवश्यक पर्ने खाद्यान्न कम्पनीबाट आपूर्ति गर्ने गराउने तर्फ पहल गरिने छ।
- कम्पनीको नियमित क्रियाकलापमा भैरहेको अनावश्यक सरकारी नियन्त्रण र हस्तक्षेप निरुत्साहित गर्न आवश्यक कदम चालिने छ ।
- कम्पनीलाई आत्मनिर्भर स्वायत्त र सवल बनाई राज्यको उत्कृष्ट सेवा प्रदायक कम्पनीको रुपमा विकस गर्न थप प्रयास गरिने छ ।
- कम्पनी पुनर्संरचनाका विषयमा प्राप्त प्रतिवेदनको गहन अध्ययन गरेर आवश्यक संशोधन गरी तत्काल कार्यान्वयन गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापनलाई दवाव दिइनेछ।
- कम्पनीको वार्षिक खरिद तथा विक्री कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न पहल गरिनेछ।
- नेपालका मौलिक बाली (रैथाने) को प्रबर्द्धन र बजारीकरणका लागि कम्पनीका तर्फबाट निरन्तर
अहम् भूमिका निर्वाह गर्न पहल गरिनेछ।
- कम्पनीको नगद मौज्दातलाई कम्पनीको अधिकतम् लाभका क्षेत्रहरु पहिचान गरी परिचालन गर्न पहल गरिनेछ साथै बैँक रहेको नगद मौज्दातमा हुने अवाञ्छित गतिविधिलाई निर्ममताका साथ निरुत्साहित गरिनेछ।
- कम्पनी स्थापना कालदेखि रोकिएको कम्पनीको साधारणसभा यस वर्ष जसरी पनि गर्न गराउन आवश्यक सहयोग र पहल गरिनेछ।
- कम्पनीका सवारी साधनको प्रयोग र तिनमा प्रयोग हुने इन्धनको नेपाल सरकारले तोकेको मापदण्ड अनुसार गर्न गराउन व्यवस्थापनलाई सुझाव दिइने छ।
- कतिपय कम्पनीको केन्द्रमा सिमित रहेका अधिकारहरु प्रादेशिक, मुख्य शाखा र शाखा कार्यालयहरुमा प्रत्यायोजन गर्ने कार्यका लागि आवश्यक पहल गरिने छ।
कर्मचारी प्रशासन,(कर्मचारी उत्प्रेरण) तर्फः
- कम्पनीको पदपूर्ति प्रक्रियालाई नियमित र निरन्तर गर्न कम्पनी व्यवस्थापनलाई आवश्यक सहयोग सहकार्य र परे दवाव समेत सिर्जना गरिनेछ ।
- कर्मचारीलाई समयानुकूल तालिम तथा सेमिनारमा सहभागी गराई दक्षता अभिवृद्बि गर्न गराउन पहल गरिनेछ।
- विभागीय प्रबन्धक/प्रमुख र प्रादेशिक प्रमुखसँग कम्पनीको वार्षिक बजेट, नीति तथा कार्यक्रमका आधारमा निश्चित मूल्याङ्कनका सूचकहरु निर्धारण गरी 3/3 महिनामा प्रमुख कार्यकारी अधिकृतलाई प्रगति प्रतिवेदन बुझाउने गरी कार्यसम्पादन सम्झौता गराउने र प्राप्त उपलब्धीका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था गर्न पहल गरिनेछ।
- कम्पनीको कर्मचारी प्रशासन विनियमावली, 2079 मा भएको व्यवस्था बमोजिम कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उत्प्रेरणा स्वरुप पुरस्कारको व्यवस्थालाई कम्पनीको स्थापना कालदेखि नै निरन्तरता नदिएको हुदाँ यथाशिघ्र प्रदान गर्ने व्यवस्था मिलाउन जोडदार माग गरिनेछ।
- प्रत्येक कर्मचारीको दायित्व/जिम्मेवारी किटान गरी त्यसैलाई कार्य सम्पादन मूल्यांकनको मुख्य आधार बनाउन व्यवस्थापनलाई दवाव दिइनेछ।
- कर्मचारीको वृत्ति विकासको लागि विनियमावलीमा भएको व्यवस्थालाई वार्षिक कार्यतालिका बनाई पारदर्शी ढंगले कार्यान्वयन गर्न व्यवस्थापनलाई दवाव दिइनेछ।
- प्रादेशिक संरचना अनुसार कार्यबोझको मूल्यांकन गरी कर्मचारी व्यवस्था मिलाउन पहल गरिनेछ ।
- कम्पनीलाई औद्योगिक प्रतिष्ठानका रुपमा विकास गर्न मिनरल वाटर उद्योग ,ग्यास रिफिलिङ्ग प्लान्ट, खाद्य उद्योग तथा ल्याव सञ्चालन जस्ता कार्यक्रमहरु प्रयोगमा ल्याउन आवश्यक पहल गरिनेछ ।
- विद्युतीय सवारी साधनहरु रिचार्जका लागि आफ्नै मौजुदा जग्गामा विद्युतीय चार्जिङ्ग स्टेशन तथा पेट्रोल पम्प स्थापना र सञ्चालन गर्न पहल गरिनेछ ।
- कम्पनीको सम्पूर्ण काम कारोवार पूर्णतः आधुनिक प्रविधि मैत्री बनाई पेपर लेस बनाउन पहल गरिने छ ।
- नेपाल सरकारको “सरकारी कागजात धुल्याउने नियमहरु, 2027″ मा भएको व्यवस्थाबमोजिम कम्पनीको विगत लामो समयदेखि अव्यस्थित ,जोखिमपूर्ण रुपमा स्टोरमा सञ्चय गरी राखेका महत्त्वपूर्ण कागजात, फाइल ,दस्तावेजहरुलाई धुल्याई डिजिटल स्टोरेजको व्यवस्था मिलाउन पहल गरिनेछ ।
- कम्पनीमा O & M सर्वे गरी प्रशासन, प्राविधिक, लेखा, बजार विश्लेषक, तथ्याङ्क आदि सेवा समूहका कर्मचारीहरु भित्र्याउन आवश्यक दरबन्दी यकिन गरिनेछ, साथै प्राविधिक सेवा तर्फका गुणस्तर, सिभिल इञ्जिनियर र मिल मेकानिक्स सेवा समूहका कार्यरत कर्मचारीहरुको वृत्तिविकास सुनिश्चित हुने गरी दरबन्दी सिर्जना तथा मिलान गर्न पहल गरिनेछ।
- कम्पनीमा कर्यरत महिला कर्मचारीहरुको हितलाई ध्यानमा राखेर सेनिटरी प्याड लगायत अत्यावश्यक औषधिको व्यवस्था निःशुल्क रुपमा गर्ने प्रबन्ध मिलाउन पहल गरिनेछ।
- नेपाल सरकारले ल्याएको “सुनौला हजार दिन आयोजना कार्यान्वयन कार्यविधि 2070” कार्यान्वयन गर्ने प्रबन्ध मिलाउन पहल गरिनेछ।
- कम्पनीमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको दैनिक ज्याला पारिश्रमिक उपलब्ध गराउन पहल गरिनेछ।
- Right Man in Right Place को अवधारणलाई पूर्ण रुपले कार्यान्वयन गर्न व्यवस्थापनलाई दबाव दिइनेछ।
- कर्मचारीहरुको सरुवा, बढुवा, तालिम लगायतका विषयहरुमा निश्चित कार्यविधि बनाई लागु गर्न पहल गरिनेछ।
- मापदण्ड बनाई कम्पनीको ट्रेड युनियनको केन्द्रीय समितिमा रहेका पदाधिकारीहरुलाई अन्य प्रतिष्ठानका ट्रेड युनियन पदाधिकारीहरुले उपयोग गरे सरहको न्यूनतम् सुविधा उपलब्ध गराउन पहल गरिनेछ।
आर्थिक प्रशासन तर्फः
- आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न भएको मितिले कम्तिमा ६ महिनाभित्र कम्पनीको कर्मचारी प्रशासन विनियमावलीको विनियम 84 मा भएको व्यवस्था संशोधन गरी कर्मचारीको स्थायी सेवा अवधि 18 वर्ष पुग्दाका बखत निजले खाइपाई आएको आखिरी महिनाको तलव स्केलका आधारमा कम्तीमा 52 देखि 72 महिनासम्मको बोनस सहितको रकम भुक्तानी हुने व्यवस्था गर्न हदै सम्मको प्रयास गरिनेछ।
- कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरुलाई हाजिर भई काम गरेको कार्य दिनको आधारमा दैनिक रू.200।- सय खाजा भत्ता र मासिक रु. 3000।– पारवहन भत्ताको व्यवस्था गर्न पहल गरिनेछ।
- आवधिक रुपमा हुने खाद्यान्न खरिद कार्यमा प्रत्यक्ष खटिने कर्मचारीहरुको लागि विशेष खाजा भत्ता र सुरक्षा प्रवन्धका लागि आवश्यक पहल गरिनेछ ।
- कम्पनी सञ्चालक समितिका सञ्चालक तथा विभिन्न समिति उपसमितिका पदाधिकारीहरुको बैठक भत्तालाई समय सापेक्ष बनाउन आवश्यक पलह गरिनेछ।
- कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरुलाई कर्मचारी प्रशासन विनियमावलीको विनियम 82 मा भएको व्यवस्था बमोजिम घरजग्गा खरिद, नयाँ घर निर्माण तथा मर्मतका लागि कार्यविधि बनाई सहुलियतपूर्ण ऋणको प्रबन्ध गर्न र सामाजिक सापटीलाई कम्तिमा 1 वर्षको बनाउन आवश्यक पहल गरिनेछ।
- सामाजिक सापटीलाई मान्य कार्यविधि बनाई एक वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई समेत सामाजिक सापटीमा सहभागी हुन पाउने व्यवस्था गर्न पहल गरिनेछ।
- कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरुलाई दिइदै आएको हालको हा.प. कर्जाको सिमालाई तेब्बर पार्न पहल गरिनेछ ।
- कम्पनीका पुराना लिनु दिनु पर्ने तथा विविध कारणले फरफारक हुन नसकी जिम्मेवारी सर्दै आइरहेका हिसावहरुलाई राफसाफ गरी पारदर्शी रुपले आवधिक नाफा नोक्सान स्पष्ट देखिने गरी कम्पनीको हिसाव अद्यावधिक गर्नेतर्फ पहल गरिनेछ।
- कम्पनीको वित्तिय र व्यवसायिक स्थितिको 6/6 महिनामा सार्वजनिक सुनुवाई सहित सार्जनिक गर्न आवश्यक पहल गरिनेछ ।
- कर्मचारीले अतिरिक्त समय काम गरे वापतको रकममा समयसापेक्ष वृद्बि गराउन प्रयत्न गरिनेछ
- कम्पनीमा कार्यरत सम्पूर्ण स्थायी तथा ज्यालादारी र मजदुर कर्मचारीहरुको वार्षिक रू. एक लाख सम्मको जोखिम स्वास्थ्य विमा गराउने कार्यमा पहल गरिने छ।
- आन्तरिक पर्यटनको विकास र प्रवर्द्धनका लागि कम्पनीमा कार्यरत कर्मचारीहरुलाई 10 दिनको पर्यटन काज सुविधा उपलब्ध गराउन पहल गरिनेछ।
- नेपाल सरकार मार्फत कम्पनीले पाउनु पर्ने शोध भर्ना रकम प्राप्त गर्न सबै खाले मार्गहरु (सम्पर्क, समन्वय र कानुनी उपचार समेत) अवलम्बन गरिनेछ।
- साविक नेशनल ट्रेडिङ्ग लिमिटेडको स्टोरमा रहेको मदिराजन्य पदार्थ र अन्य बहुमूल्य बस्तुहरुको दशैँ अगाबैदेखि विक्री वितरणको व्यवस्था गर्न पहल गरिनेछ।
- साविक नेशनल ट्रेडिङ्ग लि.ले गर्दै आएका व्यापारिक कार्यहरु वर्तमान कम्पनीबाट सञ्चालन गर्ने प्रबन्ध मिलाउन विशेष पहल गरिनेछ।
- साविक खाद्य संस्थान र नेश्नल ट्रेडिङ लिमिटेडमा रहेका पुराना सामानको लिलामी गरी राफसाफ गर्न पहल गरिनेछ
कम्पनीको अचल स्थायी सम्पत्ति संरक्षण तथा उपयोग तर्फः
- कम्पनीको अचल सम्पत्तिको वास्तविक अभिलेखीकरण गरी उपयोग नीति तथा कार्यविधि निर्माण गर्न तालुक मन्त्रालयबाटै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालय र अर्थ मन्त्रालय समेतको प्रतिनिधि रहने एक उच्च स्तरीय समिति गठन गरी यसले दिएको प्रतिवेदनका आधारमा कम्पनीको अचल सम्पत्तिको उच्चतम् उपयोग गर्न तर्फ जोडदार पहल गरिनेछ।
- कम्पनीका लिज तथा भाडामा दिइएका सम्पत्तिहरुको नियमित अनुगमन र निरीक्षण गरी भाडा नियमित हुने व्यवस्था गर्न हदैसम्मको पहल गरिनेछ।
- कम्पनीको विभिन्न स्थानमा रहेका जग्गा जमिनहरुको अधिकतम उपयोगको लागि (काठमाडौंको थापाथली, झापाको विर्तामोडह, रूपन्देहीको बुटवल, कैलालीको धनगढी कर्णाली प्रदेशको सुर्खेत दाङको घोराही लगायत अन्य स्थानहरुमा) आधुनिक Multipurpose complex भवनहरु बनाई सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
- उपयोगमा नरहेका र आय आर्जनका अन्य विकल्पको प्रयोगमा पनि कम्पनीलाई अपेक्षित लाभ प्राप्त हुन नसक्ने कार्यालय, घर तथा गोदाम मर्मत संभार गरी औचित्यपूर्ण प्रयोग गर्न पहल गरिनेछ ।
- नेशनल ट्रेडिङ्ग लि.बाट प्राप्त सम्पत्तिलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नाममा ल्याउन पहल गरिनेछ।
- सम्बन्धित निकायहरु मार्फत कम्पनीको सम्पत्ति कर छुट गराउन आवश्यक पहल गरिनेछ।
गुणस्तर सम्बन्धी कार्यहरुः–
- कम्पनीले खरिद विक्री गर्ने, सञ्चय गर्ने, अनुदानबाट प्राप्त विभिन्न गुणस्तरीय खाद्य वस्तुको गुणस्तरीयता सुनिश्चित गर्न सुविधा सम्पन्न आधुनिक खाद्य प्रयोगशाला निर्माण तथा सञ्चालनको लागि आवश्यक पहल गरिनेछ साथै कम्पनीको लागि नियमित आर्थिक आम्दानीको स्रोतका रुपमा मन्त्रालय तथा विभिन्न प्राईभेट सेक्टरहरुसंग MOU गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
- केन्द्रीय प्रयोगशालालाई ल्याव एक्रीडिटेशन गराई अन्तराष्ट्रिय गुणस्तर मापदण्ड सरह बनाउन गहल गरिनेछ
- फिल्डमा खटिने कर्मचारीको हकमा खाद्यान्न खरिदको समयमा गुणस्तर विश्लेशन कार्यलाई छिटो छरितो रुपमा सम्पन्न गर्न आवश्यक पर्ने गुणस्तर उपकरणको समयमा नै उचित व्यवस्थापनको लागि पहल गरिनेछ ।
कम्पनीको कार्यक्षेत्र तथा कारोवार विस्तार तर्फः
विगत 50 वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान) ले हिमाली तथा पहाडी क्षेत्रका दुर्गम स्थानमा खाद्यान्न आपूर्ति गर्दै आइरहेकोमा हाल प्रविधिको विकास र विस्तार बढ्दो शहरीकरण बसाई सराई बदलिँदो रहन सहन आदिले गर्दा कम्पनीको लक्षित कार्यक्षेत्र खुम्चदैं आइरहेको छ भने पूर्वाधारको विकास र विस्तारले कर्णालीको हुम्ला बाहेक सबै जिल्ला सदरमुकाम, स्थानीय तहमा सवारी साधनको पँहुच पुगेको छ ।जसले गर्दा निजी क्षेत्रले समेत खाद्य वस्तुको कारोबार गर्न शुरु गरेको हुँदा कम्पनीको कार्यक्षेत्रसमेत संकुचन हुदैं गइरहेकोले परम्परागत ढंगको काममा मात्र सिमित नरहेर कम्पनीलाई दिगो रुपमा टिकाउने कार्यक्रमहरु सार्वजनिक गर्नु पर्छ ।कम्पनीले आफ्नो कार्यशैली परिवर्तन गरी ढुवानी अनुदानित खाद्यान्नको आपूर्ति कार्यलाई कायमै राख्दै नँया नँया व्यापारिक कारोबारहरुको विस्तार गर्नु आवश्यक छ ।मौजुदा जनशक्तिलाई अधिकतम परिचालन गरी तत्कालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई ठोस रुपमा कार्यान्वयन गर्दै कम्पनीलाई अग्रगतिमा लैजानु अपरिहार्य भएको छ ।कम्पनीको विक्री वितरण कार्यलाई सर्वसुलभ र सर्वोपरी बनाउन प्रादेशिक कार्यालयहरुमा डेलिभरी भ्यानको व्यवस्था गराई अनलाईन डेलिभरी सिस्टमलाई प्रभावकारी बनाउन पहल गरिनेछ।
कम्पनीको मौजुदा आर्थिक प्रशासन विनियमावलीलाई आवश्यक संशोधन गरी खाद्यान्न ढुवानी कार्यलाई वर्षैभरी सुचारू राख्न आर्थिक वर्षको अन्त्य (आषाढ मसान्त) सम्म ढुवानी बोलपत्रको सम्पूर्ण प्रक्रिया सकिने गरी व्यवस्था मिलाउन पहल गरिने छ ।कम्पनीको छिज नीतिलाई परिमार्जन गरी कर्मचारी मैत्री र वैज्ञानिक बनाउन पहल गरिनेछ ।स्थानीय रुपमा उत्पादन हुने दुर्गमका किसानको जीवनसंग प्रत्यक्ष रुपमा सम्वन्ध जोडिएको रैथाने बालीको उत्पादन, स्थानीय व्यापार प्रवर्द्बनका लागि खरिद विक्रीको व्यवस्था मिलाई आकर्षक प्याकेजिङ तथा आफ्नै मौलिक ब्राण्डमा वजारिकरण गर्न आवश्यक व्यवस्थाका लागि पहल गरिनेछ । कम्पनीको दैनिक उपभोग्य खाद्य वस्तुको कारोबारको दायरा फराकिलो तथा बजार विविधीकरणका लागि (एक स्थानीय तह एक खाद्य गोदाम) तथा वर्षै भरी सुपथ मूल्य पसल सञ्चालनको अवधारणालाई सार्थक तुल्याउन नेपाल सरकारसँग आवश्यक बजेट तथा कार्यक्रमको लागि पहल गरिनेछ
कर्मचारी संगठनको पहलमा सम्पन्न भएका मुख्य मुख्य कामहरु
- विगत 5 वर्षदेखि रोकिएको कर्मचारी पदपूर्ति र बढुवा प्रक्रियालाई टुङ्गोमा पुर्याउन महत्वपूर्ण पहल गरेको ।
- कम्पनीको बहालबाला स्थायी कर्मचारीहरुलाई खुला प्रतियोगितामा भाग लिन उमेरहद लगाएको, तालिमबापतको अंक हटाएको, शैक्षिक योग्यताबापत अंक नपाउने व्यवस्था गरेको, बढुवाका लागि सम्भाव्य उम्मेदबार हुन चाहिने सेवा अवधिलाई तीन वर्षबाट बढाएर चार वर्ष बनाइएको लगायत व्यवस्थाका विरुद्द कानुनी उपचार मार्फत पुनः स्थापित गराउन सफल भएको, जसबाट तीन वर्ष मात्र स्थायी सेवा अवधि पुगेका धेरै कर्माचारीहरु हालै बढुवा हुन सफल भएका।
- तह विहीन कर्मचारीहरुको ०७७, र०७९ सालमा समय पुगे पश्चात स्तर वृद्बि गरिएको छ।
- कम्प्युटर अपरेटर प्राविधिक सेवालाई प्रशासन सेवामा परिवर्तन गरी कर्मचारीहरुको वृत्तिविकास गराउनुका साथै अवको मार्ग फराकिलो बनाउन सफल भएको छ।
- कर्मचारी संगठनको अन्तिम पहलमा मिति २०७७/११/ १० गतेको सर्वोच्च अदालतको फैसलाबाट प्रभावित कर्मचारीहरुको पेसागत सुरक्षा र बढुवा संभव भएको।
- कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई रू. 1 लाखको राष्ट्रिय विमा संस्थानमा कोभिड विमा गरिएको, जसबाट धेरै कर्मचारीहरु लाभान्वित भएका।
- साविक नेपाल खाद्य संस्थानको अस्थायी सेवा अवधिलाई उपदान प्रयोजनार्थ स्थायी सेवा अवधिमा गणना गरी सोही अनुसार आर्थिक सेवा सुविधा पाउने व्यवस्था गरिएको।
- कर्मचारी प्रशासन विनियमावली र खरिद तथा आर्थिक प्रशासन विनियमावलीको प्रारम्भिक मस्यौदा निर्माणदेखि कार्यान्वयनसम्म अहम् भूमिका निर्वाह भएको।
- कर्मचारी संगठनको पहलमा कम्पनीमा स्थायी रुपमा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्न सफल भएको।
- कम्पनीको आ.व. २०८०/०८१ को बजेट निर्धारित समयमै ल्याउन महत्त्वपूर्ण भूमिका र सहजीकरण गरिएको ।
- विभागीय प्रमुखहरुको बैठकमा ट्रेड युनियनका प्रतिनिधिलाई समेत राख्ने व्यवस्था गरिएको
- हिजोको खाद्य संस्थान हुदै आजको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसम्म आउँदा संस्थान/ कम्पनीका सवै सकरात्मक कार्यमा कर्मचारी संगठनको महत्वपूर्ण योगदान रहेको।
- कर्मचारी संगठनले आफ्नो स्थापनाकालतदेखि नै कम्पनीको सुदृढीकरण र आत्मनिर्भरताका साथै आम कर्मचारीहरुको हक-हित र वृत्तिविकासका लागि बुलन्द आवाज उठाउँदै आएको।
- कम्पनीमा इ-हाजिरी, इ-विलिङ्ग, सिसि टिभी क्यामेरा, नेटवर्किङ्ग, PIS, सर्भर र विभिन्न सफ्टवेयरहरु सञ्चालन गर्ने कार्यमा अहम् भूमिका निर्वाह गरेको।
- कम्पनीको भ्याट नं.,साविक नेशनल ट्रेडिङ्ग लि.ले गरेको मदिराज्य पदार्थको विक्री वितरणका लागि कम्पनीको तर्फबाट विक्री वितरण गर्न विक्री वितरण इजाजत र कम्पनीको व्यावसायिक इजाजत पत्र लिएको।
- कर्मचारी संगठनले कम्पनी नरहे हामी कर्मचारी पनि रहन सक्दैनौँ भन्ने यथार्थलाई मनन् गरी कम्पनीमा भएको सिमित स्रोत साधनलाई अधिकतम परिचालन गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको।
- नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार महान्यायाधिवक्ताको कार्यालयलाई विक्री गरिएको माइतीघर मण्डला चोकको 6-1-0-0 रोपनी जग्गाको रकम कम्पनीलाई प्राप्त गर्ने कार्यमा महत्वपूर्ण पहलकदमी गरेको।
- विस्थापित डिपोहरु पुनःस्थापना गरी कम्पनीको कार्यक्षेत्र र विक्री केन्द्रहरु विस्तार गर्न आवश्यक पहल गरेको ।
अन्त्यमा, सामूहिक सौदाबाजी, पेसागत हकहित, सुरक्षा र कम्पनीको स्थायित्व सुनिश्चित गर्न कर्मचारी संगगठनको सामुहिक नेतृत्व भन्ने धारणालाई मनन् गरी ट्रेड युनियनको दायित्व र जिम्मेवारीलाई अझ सशक्त बनाउन हाम्रो कम्पनी र कर्मचारी संगठनको विगतको विरासतलाई उच्च बनाई राख्न एंवम् तपाई हामी सम्पूर्ण कर्मचारीहरुको स्थायित्व र पेसागत हक हितको ग्यारेन्टी गर्न आगामी २४ भाद्र २०८० मा हुन गइरहेको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एकतावद्ब भएर आम प्रगतिशील कर्मचारीहरुको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनको नाम र लोगोमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनु हुन हार्दिक अपिल गर्दछौं ।
धन्यवाद ।
“आम कर्मचारीहरुको पेशागत सुरक्षा र सम्मान, कर्मचारी संगठनको चुनाव चिन्हमा मतदान ″