काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमा हिँडिरहेको बताएका छन् । बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित बिपी साहित्य महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यहि चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए ।
मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ । ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं,’ उनले भने । तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बिपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।
आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताएका छन् । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने(‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’
देउवाले भने, उनी साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा, उहाँले आफै भन्नु हुनुहुन्थ्यो कि तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ । सामन्तवादका विरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुबै उहाँले अपूर्ण देख्नुभयो । अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नु भयो “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।” आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको छ ।