देशबाहिर रहेका लाखौं युवाहरूको भविष्य खोज्दैछु: प्रधानमन्त्री प्रचण्ड

 विराटनगर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  प्रचण्डले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ। सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

‘यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिवद्धता व्यक्त गर्नुभएको छ। यो आफैमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ उर्जा पैदा भएको छ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,’ ‘यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु। जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छू प्रधानमन्त्रीले भन्नुभयो, ूआज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ। यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ। यसले निरासालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ’, ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति छ। उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरि देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु। विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्छौं।’

‘युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको होू प्रधानमन्त्रीले भन्नुभयो, ूआजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरू गरेको छु। विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौं, प्रधानमन्त्रीले भन्नुभयो।

‘सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिन्छ। यसबीचमा मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। नागरिकताविहीन नागरिकले नागरिकता पाएका छन्। भ्रष्टाचार र बेथितिका विरूद्ध कठोर कदम चालिएको छ। भ्रष्टाचार र बेथितिमाथि प्रहार नगरी समाजवादको आधार तयार हुन सक्दैन। सरकार यसमा प्रष्ट छ र दृढतापूर्वक अगाडि बढ्छ।’

प्रदेशको नामाकरणबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ। एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउने बहाना खोजिरहेका छन्। त्यसमा हामी सतर्क रहनुपर्छ। परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ,प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार