स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम गरेका छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका मिर्गौला पीडितलाई जुटाएको सहयोग हस्तान्तरण गर्न स्वयम्भूमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।
उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताए । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेको जानकारी गराउदै उनले भने, “अहिले अधिकांश डाक्टर गाउँ गइसकेका छन्, चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर यो बीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।”
अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको उनले बताएका छन् । उनले मेडिकल बोर्डलाई जथाभावी  सिफारिस नगर्न निर्देशन समेत दिएको बताए ।
मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई  निःशुल्क उपचारकोे व्यवस्था गर्ने र भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्ने बचन दिएका छन् ।
उनले भने, “तपाईहरुले मिर्गौला दिने व्यवस्था गर्नुहोस् । निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।” मन्त्री बस्नेतले उपचारका लागि सङ्कलन गरिएको रु १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गरेका हुन् । स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घमा आयोजना गरिएको भेलामा उनले अमेरिका, कोरिया, जापानलगायतका देशमा कार्यरत सिन्धुपाल्चोकवासीबाट सङ्कलन गरिएको रु ११ लाख ८६ हजार र स्थानीयवासीबाट सङ्कलित ४० हजार गरी जम्मा १२ लाख २६ हजार बिरामीलाई मन्त्री बस्नेतले हस्तान्तरण गरे ।
उनले डायलासिस गराइरहनु भन्दा जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको भन्दै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए ।
भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पु¥याउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार