काठमाडौं । देशभरका शिक्षकहरु यतिबेला काठमाडौंमा आन्दोलनमा छन् । सरकारले ल्याएको विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरु आन्दोलनरत रहेका छन् । आज दोस्रो दिन पनि माइतीघर देखि नयाँबानेश्वरसम्म शिक्षकले गरेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।
ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ । नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।
ट्राफिक जामका कारण कर्मचारीहरु समयमै कार्यालय पुग्न सकेका छैनन् भने सर्वसाधरणलाई पनि सास्ती भएको छ । दशेभरका शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा सहभागि हुँदा उता विद्यार्थीको पठनपाठनमा समेत प्रभावित भएको छ ।