काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी हठर भएका छन् । उनलाई अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले दोषी ठहर गरेको हो ।
उनिसँगै अन्य दुई जनालाई पनि अदालतले दोषी ठहर गरेको छ । उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव भएर अवकाश भएका थिए ।
पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।
सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैंया सम्पत्ति भेटियो । अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो मागदावी गरेको थियो ।