काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले रक्सी खाएर (मापसे) सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । ३ दिनअघि दक्षिणकाली नगरपालिका–२ मा राज्यमन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र बोकेको र उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रभाग फर्पिङले दुर्घटनापछि एक राती उक्त सरकारी गाडी होल्ड गरेको थियो । भोलिपल्ट दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गरेपछि छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।