विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु हुनका साथै नवविवाहित जोडीसहित डेढ सय बढि घाइते भएका छन् । यो खबर इराकको हो । इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लामा भएको विवाह समारोहमा आगलागीको घटना गएराती भएको अन्तराष्र्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । गम्भिर घाइतेहरुको विभिन्न अस्पताल उपचार भइरहेको जनाइएको छ ।
आगलागी स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।
समाचारमा जनाइएअनुसार विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा एक्कासी आगलागी भएको थियो। इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको तर कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ ।
घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले विज्ञप्ति जारी गर्दै पीडितको उद्धारका लागि सम्पूर्ण उद्धारका प्रयास परिचालन गर्न गृह र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।
इराकमा यसअघि २०२१ मा कोरोना महामारीका बेला दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा यस्तै भीषण आगलागी हुँदा ६० जनाभन्दा धेरैको मृत्यु भएको थियो ।