‘देउवाजी, म र कोइरालाबीच समझदारी बनाएका छौं, कोशीमा कार्की गठबन्धनकै मुख्यमन्त्री’


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा केदार कार्की सत्तारुढ गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका हुन् । उनले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान मात्रै कोशी प्रदेश सरकारका बिषयमा आफु र काँग्रेस सभापति शेर बहादुर नेता शेखर कोइरालाबीच सहमती भएको पनि प्रष्ट पारेका छन्।

‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ, अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं’, प्रचण्डले भने ।

कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा खडा गरेपछि नेपाली कांग्रेसको कोइराला समुहबाट नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । त्यसपछि माओवादीका आङ्बोले आफ्नो दावी रोकेपछि प्रदेश प्रमुखले आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सो राजनीतिक घटनालाई लिएर सत्तारुढ गठबन्धनमा खटपट हुने होकी भन्ने आँकलन भइरहका बेला प्रधानमन्त्री प्रचण्डले यसबारे प्रष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुको प्रश्नमा कोशीमा तत्काल सर्वदलीय सरकार नबन्ने प्रष्ट पार्दै सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार