युद्धग्रस्त इजरायलबाट उद्धार गरिएका थप १८ नेपाली भारतको दिल्ली आइपुगेका छन् । भारत सरकारको उद्धार विमानमार्फत उनिहरु गएराती दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । नेपाल सरकारको आग्रहमा भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएको उद्धार विमानमा नेपाली नागरिकहरुलाई पनि दिल्ली ल्याएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
इजरायलबाट उद्धार गरिएका १८ जना नेपालीलाई दिल्ली विमानस्थलमा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा लगायत दूतावासका अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनिहरु आजै कंचनपुरको गड्डाचौकी हुँदै महेन्द्रनगर पुग्ने र त्यहाँबाट स्थानिय प्रशासनले उनिहरुलाई गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धार भएर नेपाल फर्किन लागेकामा अनुमा डंगोल, हिना खाँड, आतिश गुरुङ, जुनु गुरुङ, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, नन्दसिंह भुल, प्रतिभा रौनियार, राजकुमार मानन्धर, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, स्मिता बस्नेत,अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ र लक्ष्मण दुलाल रहेका छन् ।
गत साता प्यालेस्टाइनी आतंककारी समुह हमासले इजरायलमाथि आक्रमण गर्दा दश जना नेपालीको मृत्यु भएको थियो । उक्त घटनापछि नेपाल फर्किन चाहनेलाई सरकारले उद्धार गरेर ल्याइरहेको छ । यसअघि नेपाल सरकारले परराष्ट्रमन्त्री एनपी साउनलाई इजरायल पठाएर नेपाल एयरलाइन्सको विमानमार्फत २५४ जना नेपालीको उद्धार गरेको थियो ।