प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा नियुक्त सापकोटा यसअघि नेपाल सरकारको महत्त्वपूर्ण थिकंट्यांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका ब्यक्ति हुन्। सापकोटाले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए । उनले नेपाल, भारत र चीनबिचको त्रिदेशीय सहकार्यसम्बन्धी शोध गरेका छन् ।

सिन्धुपाल्चोकका सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा समेत हुन् । माओवादी सशस्त्र विद्रोहमा संलग्न सापकोटाले २६ महिना जेलजीवन पनि बिताएका थिए ।

उनि पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् । उनले विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालय र थिकंट्याकंमा सिनियर स्कलर तथा रिर्सच फेलोका रुपमा पनि काम गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार