काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला २० वर्षमा नेपालले धेरै प्रगति गरेको बताएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले नेपालले पछिल्ला २० वर्षमा धेरै प्रगति गरेको बताएका हुन् ।
उनले नेपालमा गणतन्त्र स्थापना भएसंगै शान्ति प्रकृया र दिगो विकासको बाटोमा नेपाल अघि बढेको समेत बताए ।
महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्डसँग निकै रचनात्मक छलफल भएको बताउँदै आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे । उनले आफू नेपाल र संयुक्त राष्ट्रबिचको सम्बन्धलाई सुदृढ बनाउन नेपाल आएको पनि प्रष्ट पारे। उनले नेपालले शान्ति र बहुपक्षीय क्षेत्रमा पुर्याएको योगदानप्रति धन्यवाद समेत दिए । साथै उनले शान्ति सेनामा नेपालले दिँदै आएको योगदानको उच्च कदर पनि गरे।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सहयोग गर्न राष्ट्रसंघ सधैँ तयार रहेको स्पष्ट पारे ।
उनले जलवायु परिवर्तनले नेपालमा ठुलो असर पारेको र जलवायु परिवर्तन लगायतका विषयमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्ने उनको धारणा थियो । उनले आफू लुम्बिनी पुगेर बुद्धको शान्तिको सन्देश विश्वभर दिन चाहेको पनि बताए।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले हालै प्यालेस्टानकोआतंकारी समुह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएको दश नेपाली बिधार्थीप्रति दुख ब्यक्त गर्दै पीडित परिवारप्रति समवेदनासमेत व्यक्त गरेका छन्।
साथैउनले हमासको कब्जामा रहेको भनिएका कंचनपुरका विपिन जोशीसहित सबै बन्धकहरूलाई निःशर्त रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।
महासचिव गुटरेसले हमासको आक्रमणको निन्दा गर्दै गाजाको स्थिति थप जटिल बन्दै गएकोमा पनि चिन्ता प्रकट गरे ।