सांसद अमरेशलाई वाइसिएल इन्चार्जको चेतावनीः तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई

काठमाडौँ । माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सांसद अमरेशकुमार सिंहलाई सडकमा नाङ्गै पार्ने चेतावनी दिएका छन् ।

उनले आज सामाजिकसंजाल फेसबुकमार्फत सांसद सिंहले प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित नगरे सडकमा नाङ्गै पार्ने चेतावनी दिएका हुन् । सांसद सिंहलाई गंगामाथि लगाएको गम्भिर आरोप प्रमाणित गर्न चुनौती पनि दिएका छन् ।

सांसद सिंहले आज प्रधानमन्त्रीका स्वकिय सचीव दाहालबारे सामाजिक सञ्जाल फेसबुकमै “प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गंगा दाहालले कुन कुन ब्यापारीसंग कुन कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसङ सुरक्षीत छ। समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु” भन्दै स्टाटस लेखेका थिए ।

गंगामाथि यस्तो गम्भिर आरोप लगाएपछि आक्रोशित दीपशिखाले सिंहको उक्त स्टाटस सेयर गर्दै फेसबुकमा “माननिय ज्यु, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईलाई सडकमा नांगै पारेर दौडाउन पाई कि नपाई ?” भन्दै चेतावनीपुर्ण स्टाटस लेखेका हुन् ।

नेपाली काँग्रेसबाट टिकट नपाएपछि सर्लाहीबाट स्वतन्त्र सांसद बनेका सिंहको यस्तो आरोपले माओवादीका युवा नेता कार्यकर्ताहरु आक्रोषित बनेका छन् ।

सांसद सिंहको स्टाटसबारे वाइसिएलका अध्यक्ष सुबोध सिर्पालीले पनि सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका छन् ।

त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पनि गंगामाथि लगाएको आरोपको प्रमाणित गर्न चुनैती दिएकी छन् ।

सांसद सिंहले पछिल्लो समय संसदमा कपडा खोलेर अर्धनग्न हुनेदेखि सामाजिकसंजाल र संचारमाध्यमहरुमा अरुको चर्को विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार