काठमाडौं । दोहा फोरम २०२३ का लागि कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसंग हमासको नियन्त्रणमा रहेका नेपाली विधार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेका छन् ।
आज कतारमा उनिहरुबीच भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिनको शीघ्र रिहाइका लागि शसक्त पहल गरिदिन कतारी प्रधानमन्त्री थानीसंग आग्रह गरेको साउदका स्वकीय सचिव दीपक जोशीले बताए ।
उनका अनुसार जवाफमा कतारका प्रधानमन्त्री थानीले विपिन लगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास जारी नै राखेको बताएका थिए ।
परराष्ट्रमन्त्री साउदले भेटवार्ताका क्रममा कतारका प्रधानमन्त्री थानीसँग व्यापार र लगानी विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग लगायतका विषयमा पनि छलफल भएको थियो।
परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका थिए ।
परराष्ट्रमन्त्री साउदले कतार जानुअघि पनि विपिनको रिहाइका लागि इजराइली अधिकारीसंग पनि टेलिफोन संवाद गरेका थिए ।