काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयका अनावश्यक कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनावश्यक कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको हो। प्रचण्ड नेतृत्वको सरकार एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले आफ्नै मन्त्रालयको पुनःसंरचना गरेर नयां कामको थालनी गर्ने भनेकै दुई दिनपछि कार्यालयका अनावश्यक कर्मचारी कटौती गरेका छन् ।
कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुने उनले बताइन्।
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक बर्ष पुरा भएको अवसरमा संवोधन गर्दै आगामी दिनमा जनतालाई सुशासन र विकास दिनेकाममा तिर्बता दिन मन्त्रिमण्डल हेरफेर समेत हुन सक्ने बताएका थिए । उनले जनताको पक्षमा काम गर्नका लागि आफुहरुलाई कमजोरी गर्ने कुनै छुट नभएकाले सरकारको गति अझै प्रभावकारी ढंगले अघि बढ्ने दावी गरेका थिए ।