काठमाडौं । ग्वार्कोमा प्रहरीको गाली लागेर एक जना आन्दोलनकारी युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा करिब २३ वर्षीय सुजन राउत रहेका छन् ।
उनका इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताएका छन् । बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेका राउतलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।
राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। त्यस्तै अर्का घाइतेको भने पाटन अस्पताल उपचार भइरहेको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि आज दिउँसो युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी परिसर, ललितपुरले हवाई फायर गरेकाले सोही गोली लागेर एक जनाको मृत्यु भएको हो भने एक जनाको उपचार भइरहेको छ ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपीएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।
इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।