काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टीहरुको एक आपसमा मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले नेपालका राजनीतिक पार्टीहरुको एक आपसमा मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका हुन् । उनले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद पनि देशमा रहेका सबै राजनीतिक पार्टीहरु एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको बताए ।
कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू पाहुनाहरु पनि छक्क परेको उनको भनाई थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा प्रतिस्पर्धाका बाबजुद पनि दलहरुबीच एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण अन्य देशमा कमै मात्रामा रहेको बताए ।
उनले बर्तमान परिस्थितमा देशमा सम्पुर्ण दलहरुबीच मेलमिलापको आवश्यकता अझै बढेर गएको औंल्याए । जनताको लामो संघर्ष र त्यागबाट देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको खिलाफमा पछिल्लो समय विभिन्न षड्यन्त्रहरु भइरहेकाले दलहरुबीचमा अझै मेलमिलापको आवश्यक रहेकोमा उनले जोड दिए । लोकतन्त्रको विकल्प कुनै निरंकुसता नभएर अझ राम्रो लोकतन्त्र भएको उनले बताए ।
सभापति देउवाले गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा कल्पना भन्दा बाहिरको भएको बताए । उनले देशमा फेरि राजा फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्नेमा जोडि दिए ।