काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी प्रकरणकमा दुई जनालाई जेल चलान गरिएको छ । ठगी प्रकरणमा उक्त सहकारीको पूर्व सञ्चालक रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई आज जेल चलान गरिएको हो ।
गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका गुरुङ र अर्याल हिजो मात्रै कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए । उनिहरुलाई प्रहरीले अदालतमा हिजो बयान गराएर आज भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनिहरु जेल चलान भएका छन् ।
उनिहरुले सहकारीमा सर्वसाधारणले राखेको बचत रकम अपचलन गरेको आरोप छ । जेल चलान भएका गुरूङ नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन्।
उक्त सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पक्राउ गरि थुनामा राखिएको छ ।
सहकारीबाटपीडितबनेका बचाकर्ताहरुले अध्यक्ष पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् । लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनिहरु पनि फरार छन् ।
उनीहरूविरुद्ध १ हजार ३६ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । सूर्यदर्शन सहकारीबाट बचतकर्ताहरुको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिनमा उल्लेख छ।
जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ ।